बिर्तामोडका २० कार्यविधि पारित

बिर्तामोड, मंसिर १२ । बिर्तामोड नगरपालिकाले विभिन्न २० वटा कार्यविधि तथा निर्देशिका पारित गरेको छ ।

जसअन्तर्गत विपद् व्यवस्थापन कोष सञ्चालन काार्यविधि, स्थानीय तह स्वास्थ्य संस्था, दर्ता, अनुमति तथा नवीकरण निर्देशिका, घ वर्गको निर्माण व्यवसायी इजाजत कार्यविधि, उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्यविधि, टोल विकास संस्था सञ्चालन कार्यविधि, खेलकुद विकास निर्देशिका, सूचना तथा सञ्चार कार्यविधि रहेका छन् ।

यसैगरी, विद्युतीय हाजिरी प्रणाली प्रयोग गर्ने कार्यविधि, नगर प्रहरी गठन तथा सञ्चालन कार्यविधि, श्रमिक सञ्चालन कार्यविधि, करारमा प्रविधिक कर्मचारी व्यवस्था गर्ने कार्यविधि, बजार अनुगमन निर्देशिका, सवारी साधन परिचालन र व्यवस्थित गर्न बनेको कार्यविधि लगायत कृषि, पशुसेवा सञ्चालन सम्बन्धी कार्यविधिहरु पारित गरी लागु गरेको छ ।

नगरपालिकामा नयाँ नेतृत्व आएपछ पहिलोपटक यी कार्यविधि तथा निर्देशिका निर्माण गरी लागु गरिएको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । उनका अनुसार कतिपय कानुन कार्यान्वयन गर्न निर्देशिका र कार्यविधिको अभावमा समस्या भइरहेको बेला अब सहजता हुनेछ ।

पत्रकारलाई पुरस्कारको व्यवस्था
त्यस्तै, मिडिया क्षेत्रको विकासका र सञ्चारकर्मीहरुको हितका लागि सूचना तथा सञ्चार कार्यविधि लागु गरिएको छ । सूचना तथा सञ्चार कार्यविधि २०७५ नामक यस कार्यविधि लागु भएपछि नगर क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक र हितका लागि नीतिगत व्यवस्था गरिएको बिर्तामोड नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले बताए ।

उनका अनुसार सो कार्यविधिमा व्यवस्था भएअनुसार अब नगरपालिकाले प्रत्येक वर्ष एकजना सञ्चारकर्मीलाई विकास पत्रकारिता पुरस्कार प्रदान गर्ने छ भने नगरको एउटा मिडियालाई पुरस्कृत गर्नेछ ।

नगरका विकासमूलक समाचारलाई प्राथमिकता दिने एकजना पत्रकार र एउटा सञ्चारमाध्यमलाई पुरस्कृत गरिने नीतिगत व्यवस्था भएको छ । साथै, अन्य सहयोगात्मक र भ्रमणका कार्यक्रमहरु गरिने कार्यविधिमा उल्लेख छ ।

Facebook Comments