अर्जुनधारामा मेरो वर्ष अभियान सुरु

शनिश्चरे । ‘म स्वास्थ्य, मेरो नगर स्वास्थ्य, मेरो देश स्वास्थ्य’ भन्ने मुख्य नारासहित झापाको अर्जुनधारा नगरपालिकामा मेरो वर्ष अभियान २०७५को शुभारम्भ भएको छ ।

नगरपालिकाको सभाहलमा मंगलबार आयोजित एक समारोहका बीच स्वास्थ्यसम्बन्धी विभिन्न आठ वटा बुँदा उल्लेखित ब्यानरमा नगर प्रमुख हरिकुमार रानाले हस्ताक्षर गर्दै अभियानको शुभारम्भ गरेका हुन् । नगर प्रमुख रानासँगै उपप्रमुख कमला खतिवडा आचार्य, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखाका प्रतिनिधिहरु, सरोकारवालहरुले उक्त ब्यानरमा हस्ताक्षर गरेका थिए ।

ब्यानरमा म तनावरहित जीवन व्यतित गर्छु, म आफ्नो घर, आँगन र समुदाय सफा राख्छु, म ट्राफिक नियम पालना गर्छु, म रक्सी, चुरोट र सूर्तीजन्य पदार्थ खान्नँ, म नियमित व्यायाम गर्छु, म स्वस्थ्य र पोषिलो खान्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु र म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहनेछु भन्ने बुँदा उल्लेख छ ।

नगर स्वास्थ्य शाखाका प्रमुख मुकुन्द बस्नेतका अनुसार अभियानअन्तर्गत वर्षभरि नगरपालिकाका सबै वडाहरुमा विभिन्न सर्ने रोग, नसर्ने रोग, प्रजनन, बाल वातावरण स्वास्थ्यको विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

यसैबीच सोही दिन समुदाय स्वास्थ्य सेवा प्रवद्र्धन कार्यक्रमअन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहजकर्ताद्वय स्वास्थ्य शाखा प्रमुख बस्नेत र शनिश्चरे प्राथमिक केन्द्रकी प्रमुख डा. सुशिलाकुमारी यादवले सहजीकरण गरेका थिए ।
नगर प्रमुख रानाको अध्यक्षतामा आयोजित कार्यक्रमको औचित्यमाथि प्रकाश स्वास्थ्य शाखा प्रमुख बस्नेतले र कार्यक्रमको सञ्चालन सहायक प्रमुख मिश्रीलाल शर्माले गरेका थिए ।

Facebook Comments