आगो निभाउँदा घाइते गीतादेवीको उपचारमा समस्या

झापा, मंसिर १९ । एकै परिवारका चारजनाको ज्यान लिनेगरी भएको आगलागीको घटनामा सहयोग गर्न जाँदा गम्भीर घाइते भएकी एक छिमेकी महिलाको उपचारमा समस्या भएको छ ।

९ मंसिर साँझ झापाको शिवसताक्षीस्थित लालझोडा निवासी लक्ष्मण खानालको घरका सबै चारजना सदस्यको ज्यान लिनेगरी भएको आगलागीका क्रममा आगो निभाउने पुगेकी छिमेकी ३३ वर्षीया गीतादेवी घिमिरे (ढुंगेल) को उपचारमा आर्थिक समस्या भएको हो ।
छिमेकीको घरमा आगो लागेको देखेपछि आगो निभाउन पुुगेकी गीतालाई पानी छ्याप्ने क्रममा बिस्फोट भएको सिलिन्डरको चोइटा लागेको थियो । राति दुई बजे एम्बुलेन्समा विराटनगरस्थित नोबेल अस्पताल उपचारका लागि आइपुगेकी गीताको दाहिने हातको हड्डी भाँचिएको छ भने गहिरो घाउ लागेको छ ।

हाल क्रेडिट कार्ड बनाएर उपचार गराइरहेको तर कसैले पनि आफो अवस्थाबारे सोधखोज नगरेको गीताको गुनासो छ । सामान्य आर्थिक अवस्था भएकी गीताको हातमा स्टिल हाल्न बाँकी नै छ । उपचार खर्च बढ्ने भएपछि कसरी तिर्ने भन्ने चिन्तामा गीता र उनका श्रीमान् गणेशप्रसाद ढुंगेल रहेका छन् ।

गाउँमै समान्य किराना पसल चलाएर जीविका गर्दै आएका उनीहरुका ५ र ९ वर्षका दुई सन्तान छन् । गणेशप्रसादले भने, ‘हामीले मानवीय भावनाले सेवा गर्दा आपत आइलागेको छ । हामीसँग भएको रकम सकाइसक्यौँ, सहयोगी मनले हेरिदिए हुनेथियो ।’
यसैबीच, शिवसताक्षी ७ नम्बर वडा अध्यक्ष नविन इजमले घाइते गीतालाई के र कसरी सहयोग गर्ने भन्नेबारेमा छलफल गरिरहेको बताए । उनले भने, ‘हामीले डिर्स्चाज भइसकेको भन्ने खबर पाएका थियौँ तर होइन रहेछ, अब के कसरी सहयोग गर्ने भन्नेबारे छलफल गरिरहेका छौँ, अवश्व सहयोग गर्नेछौँ ।’

९ मंसिर साँझ ९ बजेतिर भएको उक्त अगालागीमा परेर घरधनी ३६ वर्षीय लक्ष्मण खनाल, उनकी पत्नी ३० वर्षीया राधिका, ४ वर्षीया छोरी सुप्रिया र ३ महिनाका छोरा टिकारामको मृत्यु भएको थियो । आगलागी विद्युत सर्ट भएर भएको प्रहरीको दाबी छ । स्थानीयले भने घटना शंकास्पद भएकोले विशेष रुपले छानबिन गर्न माग गर्दै आएका छन् ।

Facebook Comments