कालोसूचीमा परेका मजदुर नेता मस्तीमा

झापा, मंसिर १९ । अनियमितताको आरोपमा कालोसूचीमा परेका एक मजदुर नेता बिनारोकटोक डेनमार्कको राजधानी पुगेका छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम लिएर नतिरेपछि कालोसूचीमा परेका तत्कालीन माओवादीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) का केन्द्रीय अध्यक्ष गणेश रेग्मी शनिबार कोपनहेगन पुगेका हुन् ।

देशबाहिर जान नपाउने गरी युवा तथा खेलकुद मन्त्रालयले उनको राहदानी रोक्का गर्न कात्तिक २६ गते परराष्ट्र मन्त्रालयमा पत्र पठाएको थियो । परराष्ट्र र गृह मन्त्रालयको समन्वय नहुँदा कालोसूचीका रेग्मीले अध्यागमनबाट सहजै प्रस्थान अनुमति पाएका हुन् । अध्यागमन विभागले रेग्मीलाई रोक्नु वा उनको राहदानी रोक्का गरिएको कुनै निकायले पत्राचार नगरेको दाबी गरेको छ ।

तर, रेग्मी कोपनहेगन गएनगएको रेकर्ड अध्यागमनसँग छैन । उनी गत असारमा मात्र विदेश गएको रेर्कड अध्यागमनमा छ । अध्यागमनको इमी सफवयेरमा रेग्मी नेपालबाट बाहिरिएको रेकर्ड नदेखिएको अध्यागमनका एक कर्मचारीले बताए ।

उनी अन्य पार्टीका ट्रेड युनियनका नेतासँगै अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) को सम्मेलनमा भाग लिन अन्टुफका तर्फबाट कोपनहेगन गएका हुन् । अन्टुफबाट ७ जना छानिए पनि खर्च जुटाउन नसकेपछि अरु जान सकेनन् । उनी नेपाल टे्रड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, नेताहरू रमेश बढाललगायतसँगै कोपनहेगन पुगेका हुन् । उनीसहितका मजदुर नेता कोपनहेगन पुगेको तस्बिर नेकपा केन्द्रीय सदस्यसमेत रहेका जिफन्ट अध्यक्ष श्रेष्ठको सामाजिक सञ्जालमा छ ।

रेग्मी अध्यक्ष रहेको मजदुर सहिद स्मृति उपभोक्ता सहकारी संस्थाले ०६८ सालमा बेरोजगार युवालाई स्वरोजगार बनाउन ४ वर्षमा भुक्तानी गर्ने सर्तमा कोषबाट ५ करोड ऋण लिएका थिए । उक्त सहकारी टे्रड युनियन महासंघकै छाताअन्तर्गत गठन गरिएको थियो । उनले पेट्रोल पम्प, सहकारी पसल, गाई फार्मलगायतमा लगानी गर्ने भन्दै बेग्लाबेग्लै ८ समूह बनाएका थिए ।

स्वरोजगार कोषले बारम्बार ऋण तिर्न ताकेता गर्दा पनि नतिरेपछि सहकारीका रेग्मीलगायत जनक शर्मा, प्रकाश श्रेष्ठ, सोमबहादुर तामाङ, विष्णु थापा र राजाराम ठकुरीलाई युवा तथा खेलकुद मन्त्रालयले कालोसूचीमा राखेको हो ।

Facebook Comments