प्रदेश १ मा टिप्परलाई चार घण्टा प्रतिबन्ध

बिर्तामोड, मंसिर १९ । टिप्परका कारण दुर्घटनाको जोखिम बढेको भन्दै प्रदेश १ का सबै सडकमा दैनिक चार घण्टा प्रतिबन्ध लगाइने भएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा टिप्परलाई मुख्य तथा सहायक राजमार्ग र भित्री सडक खण्डमा बिहान र दिउँसो दुई/दुई घण्टा सञ्चालनमा रोक लगाउने तयारी भएको हो । सडकमा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएपछि आगामी पुस १ गतेबाट दैनिक चार घण्टा टिप्परमाथि रोक लगाउन लागिएको हो ।

प्रदेश १ का ट्राफिक प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले सबै जिल्ला सुरक्षा समितिको निर्णय अनुसार टिप्पर सञ्चालनमा रोक लगाउने तयारी भएको बताए । अहिले यो विषयमा चालकलाई जानकारी दिने काम सुरु भएको उनको भनाइ छ ।

एसपी पौडेलका अनुसार बिहान ९ बजेदेखि ११ र दिउँसो ३ बजेदेखि ५ बजेसम्म मुख्य राजमार्ग, सहायक मागमा टिप्पर चलाउन रोक लगाइनेछ ।

‘पिक आवरमा टिप्पर सञ्चालन गर्न नदिने विषयमा प्रदेशका १४ वटै जिल्ला सुरक्षा समितिले निर्णय गरेका छन्’, एसपी पौडेलले भने । ट्राफिक प्रहरीका अनुसार साउनयता प्रदेश १ मा टिप्परका कारण १२ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परेर पाँचजनाको मृत्यु र ३५ घाइते भएको एसपी पौडेलले जानकारी दिए ।

Facebook Comments