व्यवस्थित बन्दै भद्रपुर गौशाला

भद्रपुर, मंसिर २० । भद्रपुर नगरपालिका स्थापना भएको एक वर्षपछि स्थापित भद्रपुर गौशालालाई गौ-संरक्षणका लागि थप व्यवस्थित बनाइएको छ ।

झापालगायत झापाबाहिर र भारतसमेतका दानवीर दाताहरुको सहयोगमा गौशाला परिसरमा विभिन्न भौतिक संरचना निर्माण गरिएको छ भने उन्नतजातका गाई र बहर ल्याइएको छ । दाताहरुबाट संकलित ८७ लाख ३६ हजार ६१५ मध्ये ७५ लाखभन्दा बढी रकम गौशाला परिसरमा भगवान श्रीकृष्णको मन्दिरलगायत भौतिक संरचना निर्माण र गाई ढुवानीमा खर्च गरिएको गौशालाका अध्यक्ष राजेन्द्र चापागाईंले जानकारी दिए ।

गौशालाले तीन दिनसम्म धार्मिक महोत्सव गरी बुधबार नवनिर्मित मन्दिरमा भगवान श्रीकृष्णको प्रतिमा प्रतिस्थापन गरेको छ । एक समारोहका बीच मन्दिरको प्राण-प्रतिष्ठा गरिनुका साथै दाताहरुलाई सम्मान पनि गरिएको छ । भगवान श्रीकृष्णको शीलाको प्रतिमा गौशालाका पूर्वअध्यक्ष सावरमल मित्तलले प्रदान गरेका हुन् ।

गौशालाका अध्यक्ष राजेन्द्र चापागाईंको अध्यक्षतामा आयोजित समारोमा विशिष्ट अतिथि झापा क्षेत्र नम्बर ३ का प्रदेशसभा सांसद वसन्त बानियाँ, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठलगायतले सयभन्दा बढी दाताहरुलाई सम्मानपत्रद्वारा सम्मानित गरे । समारोहको प्रमुख अतिथिका रुपमा अनन्त श्री विभूषित जगतगुरु बालसन्त मोहनशरण देवाचार्यलाई राखिएको भए पनि व्यव्तताका कारण उनी समारोहमा उपस्थित हुन नसकेको अध्यक्ष चापागाईंले जानकारी दिएका छन् ।

गौशालाले संस्कृत पाठशालासमेत सञ्चालन गर्ने गरी पाठशाला भवन, छात्रावास, बटुकहरुका लागि भोजनालय निर्माण गरेको छ भने घेराबार र गाईवस्तुलाई सहज विचरणका लागि परिसर व्यवस्थित बनाएको गौशालाका सचिव सुबोध कोठारीले जानकारी दिए । उनले हाल गौशालामा ५० गाई, दुई साँढे र ८ बाच्छाबाच्छी छन् । तीमध्ये १० वटा गाई र दुईवटा साँढे भारतको प्रसिद्ध धार्मिकस्थल वृन्दावन र दिल्लीबाट ल्याइएका हुन् । त्यहाँ दानमा पाइएका उन्नत जातका ती गाई गौशालासम्म ल्याइर्पुयाउँदा ढुवानीमा ३ लाख ७० हजार ९२० रुपैयाँ खर्च भएको अध्यक्ष चापागाईंले बताए । गौशाला हाल भद्रपुरको वडा नम्बर ५ मा पर्छ । ०५९ मा गौप्रेमी समाजसेवी जगदीश मिण्डा, परशुराम अग्रवाललगायत नेतृत्वमा आएपछि गौशालाका मुहार फेरिएको हो ।

भद्रपुर निवासी भवानीशंकर मित्रुकाले २५ बिघा र राइटर मुक्तिध्वज जोशीले ३ बिघा जग्गा दान गरेपछि विसं २००९ सालमा भद्रपुर गौशाला स्थापना भई दानमा प्राप्त जग्गा परिसरमा सयौँ गाई संरक्षण गरिएको तर त्यसबेला सुरक्षित घेराबार बासस्थानको अभावमा गाईवस्तु चोरी हुन थालेपछि अहिलेको स्थानमा सारिएको इतिहास रहेको अध्यक्ष चापागाईंले जानकारी दिए । अहिलेको स्थानमा समाजसेवी जनार्दन शर्माले साढे तीन कट्ठा दानमा र ८ कट्ठा जमिन सुलभ मूल्यमा उपलब्ध गराएका थिए ।

विसं २००८ सालमा स्थापित भद्रपुर नगरपालिकाका प्रमुख श्रेष्ठले गौशाला भद्रपुर नगरकै गहना भएकोले यसको संरक्षण र सम्बर्द्धनमा नगरपालिकाले पनि योगदान गर्ने बताए भने प्रदेशसभा सांसद बानियाँले पनि गौशालाका लागि प्रदेशको तर्फबाट पनि सहयोग र्पुयाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । समारोहको सञ्चालन सञ्चारकर्मी गोपाल गिरीले गरेका थिए ।

Facebook Comments