भद्रपुर खुला दिसामुक्त घोषणाको अवस्थामा

भद्रपुर, मंसिर २० । झापाको सदरमुकाम भद्रपुर नगरपालिका खुला दिसामुक्त घोषणाको अवस्थामा पुगेको छ ।

जिल्ला खानेपानी तथा सरसफाइ समन्वय समितिले नगरको खुला दिसामुक्त हुन बाँकी वडा नम्बर ४ र ५ तथा वडा नम्बर ३ को की भागको अन्तिम गुणस्तर अनुगमन गरी स्वीकृति दिएसँगै भद्रपुर नगरपालिका खुला दिसामुक्त घोषणाको अवस्थामा पुगेको हो ।

जिल्ला समन्वय समिति झापा उपप्रमुख मीना पराजुलीको नेतृत्वमा जिल्लास्तरीय अनुगमन टोलीले मंगलबार र बुधबार नगरको वडा नम्बर ३, ४ र ५ का गाउँबस्तीमा शौचालयको अनुगमन गरेको थियो । टोलीले संस्थागत शौचालयको पनि अनुगमन गर्नेक्रममा भद्रपुर माध्यमिक विद्यालयमा शौचालयको सरसफाइको अवस्था नाजुक देखेपछि त्यसलाई तत्काल सुधार्न निर्देशन दिइएको जिसस उपप्रमुख पराजुलीले जानकारी दिइन् । भद्रपुर वडा नम्बर ४ का वडाध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हंशधर राजवंशीले विद्यालयको शौचालयको अवस्था तत्काल सुधार गर्ने प्रतिबद्धता जनाएका थिए ।

वडा नम्बर ३ को केही भाग र वडा नम्बर ४ र ५ खुला दिसामुक्त बन्न बाँकी नै छ । ती वडा पनि नगरपालिका सँगसँगै घोषणा गर्ने गरी स्वीकृति प्रदान गरिएको समितिका संयोजक रुद्रबहादुर न्यौपानेले जानकारी दिए ।

जिल्लास्तरीय समितिले स्वीकृति प्रदान गरेसँगै भद्रपुरलाई यही २१ गते खुला दिसामुक्त नगरपालिका घाषणा गर्ने गरी तयारी गरिएको नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । नगरपालिका परिसरमा व्यापक जनसहभागिताका बीच विभिन्न चेतनामूलक क्रियाकलापका साथ समारोह आयोजना गरी खुला दिसामुक्त घोषणा कार्यक्रम गरिने उनले बताए ।

साविक पृथ्वीनगर, महेशपुर र चन्द्रगढीसमेत समाहित भई बृहत बनेको भद्रपुर नगरपालिका क्षेत्रभित्र १५ हजार २०३ घरधुरी रहेको बताइएको छ ।

युएन ह्याबिट्याटको ग्लोबल स्यानिटेसन फन्डले अभियान सञ्चालन गर्दा साविक पृथ्वीनगर क्षेत्रमा एक हजार १७९ र भद्रपुरमा दुई हजार १२७ घरधुरीमा शौचालय बन्न बाँकी थियो । पृथ्वीनगरमा खुला दिसामुक्त अभियानलाई बिर्तामोडस्थित विराट सामुदायिक अध्धयन केन्द्रले सहजकरण गरिरहेको थियो भने भद्रपुरमा नगरपालिका आफले अगुवाइ गरेको नगरपालिकाका सहजकर्ता वलणिन्द्र दाहालले जानकारी दिए ।

झापामा अब मेचीनगर र नगरपालिका र हल्दिबारी गाउँपालिका मात्र खुला दिसामुक्त हुन बाँकी रहेका छन् । ती पालिका पनि घोषणाको अन्तिम अवस्थामा पुगेकोले यसै महिनाभित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने गरी तयारी अघि बढाइएको बताइन्छ ।

Facebook Comments