भत्किएको छानोमा सनमायाको संघर्ष

उर्लाबारी, मंसिर २० । मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका-६ कालिझोडाका ७८ वर्षीया सनमाया महरा (दर्जी) वृद्धावस्थामा पनि संघर्ष र चुनौतीले घेरिएकी छिन् । ३८ वर्षीया छोरी मनोरोगी छिन् ।

उनलाई डोरीले बाँधेर घरमै राख्ने गरिएको छ। नातिहरू ११ र १४ वर्षका मात्रै भए । ‘कमाउने व्यक्ति कोही छैन । जेठा छोरा अशक्त छन् । पहाडमै बस्छन् । कमाउन भनेर २० वर्षअघि हिँडेको माइलो छोरो फर्किएको छैन’, रुँदै सनमायाले भनिन्, ‘कान्छा छोराले झुन्डिएर आत्महत्या र्गयो । घरमा दुई छोरा छाडेर वैदेशिक रोजगारीमा गएकी कान्छी बुहारीले उतै पुनर्विवाह गरी ।’

फुसको छानो र बाँसको टाटी भएको पुरानो घर बर्सेनि हात्तीले भत्काइदिने र हुरीले उडाइदिने गरेको सनमाया बताउँछिन् । भर्खरै हात्तीले भत्काएको घरको छाना टाल्न सकिएको छैन । ‘सम्पत्तिको नामा दुईवटा कुखुरा र केही चल्ला मात्र छन् । बनिबुतो र गाउँमा मागेर जेनतेन गुजारा चल्ने गरेको छ’, उनले भनिन् ।

मनोरोगी छोरी र नातिहरू पाल्नका लागि जीवनको उत्तरार्द्धमा उनी संघर्षरत छिन् । कमाइको नाममा उनले पाउने वृद्धभत्ता मात्र हो । हात्तीले भत्काइदिएको बाँसको टाटी र भुसको छानो उनले अझै बनाउन सकेकी छैनन् । हात्ती र जाडोले बालक नातिहरूलाई लैजान्छ कि भन्ने पिरले सधैँ सताउँछ । ७८ वर्षको उमेरमा उनको एउटै इच्छा छ, ‘नातिहरूको जीवन रक्षा गर्ने र वंश जोगाउने ।’

जनप्रतिनिधिको बेवास्ता

यी दलित वृद्धाबारे जनप्रतिनिधि पनि जानकार छन्् । वडाध्यक्ष बुद्धिलाल निरौला वृद्धभत्ता आफले घरमा र्पुयाइदिने गरेको र एकचोटि दुई बोरा चामल पनि सहयोग गरेको बताउँछन् । तर, भत्किएको घर बनाइदिने र उनका टुहुरा दुई नाति र मनोरोगी छोरीलाई संरक्षण गरिदिनेबारे उनीसँग विशेष योजना छैन । अध्यक्ष निरौलाले आवश्यक सहयोगका लागि गाउँपालिकामा लेखेर पठाइदिएको र दुई हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको सुनाए । उनले भने, ‘मेरो वडामा मात्र अति दु:ख पाएका ६-७ घर छन् । कतिलाई दिएर सक्नु र यसैले गाउँपालिकालाई लेखी पठाएका हौँ ।’

दलित अधिकारकर्मी गोपाल नेपाली अति दु:ख पाएका अशक्तलाई संरक्षण गर्नु राज्यको दायित्व रहेको बताउँछन् । उनले गाउँपालिकाले योजना बनाएर सनमायाको परिवारलाई संरक्षण गर्नुपर्ने बताए । ‘गाउँपालिकाले घर टिनले छाइदिएर पशुपक्षी पालनमा सहयोग गरे सनमायाले जीवन चलाउन सक्ने थिइन्’, अधिकारकर्मी नेपालीले भने, ‘विकास भनेको बटो बनाउनु मात्र हैन, सबै बजेट सक्नु मात्र हैन, दु:खीहरूको संरक्षण पनि हो, जबसम्म मानवीय विकास अधुरो हुन्छ समाज विकसित हुन सक्दैन ।’

Facebook Comments