करिअरको नवौं लिग बिबिएल खेल्दै सन्दीप लामिछाने

झापा, मंसिर २५ । नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने आइतबार राति अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

उनी अस्ट्रेलियामा आगामी डिसेम्बर १९ देखि सुरु हुने बिग बास लिग (बिबिएल) मा सहभागिता जनाउन त्यसतर्फ गएका हुन् । योसँगै सन्दीपले करिअरको नवौं फन्चाइज क्रिकेट लिग खेल्दैछन् । सन्दीप एभरेस्ट प्रिमियर लिग (इपिएल)का २ खेल खेलेर अस्ट्रेलिया प्रस्थान गरेका हन् । ललितपुर प्याट्रियट्ससँग आबद्ध सन्दीपले शनिबार विराटनगरविरुद्ध २ विकेट र आइतबार चितवनविरुद्ध ३ विकेट लिएका थिए ।

१८ वर्षीय सन्दीपले दुई सत्रमा रहेर बिबिएलमा सहभागिता जनाउने छन् । उनी मेलबर्न स्टार्ससँग आवद्ध भएका थिए । उनी पहिलो सत्रमा मेलवर्न टिममा सहभागी हुनेछन् । बिबिएलमा मेलवर्नको पहिलो खेल आगामी डिसेम्बर २० मा पर्थविरुद्ध छ । मेलवर्नले उनलाई ६० हजार अमेरिकी डलरमा आवद्ध गरेको थियो ।

बिबिएल चलिरहँदा बंगलादेश प्रिमियर लिग (बिपिएल) मा सहभागी हुन उनी जनवरी ५ मा बंगलादेश जाने कार्यक्रम रहेको छ । बिपिएलको समाप्तिपछि उनी पुन: अष्ट्रेलिया फर्किनेछन् । बिबिएलमा सन्दीप सिल्हेट सिक्सरमा आवद्ध छन् । बिबिएलमा सन्दीपले कम्तिमा ६० हजार डलर पाउनेछन् । उनको टिम सिल्हेटको प्रतियोगितामा दोस्रो चरणमा स्थान पक्का सन्दीपको पारिश्रमक अझै बढ्नेछ ।

सन्दीपले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पनि पक्का भइसकेको छ । सन्दीपलाई गत साता दिल्ली डेयरडेभिल्सले रिटेन गरेको थियो । आइपिएलमा सन्दीपले पाउने पारिश्रमिकको विषयमा भने अझै टुंगो लागिसकेको छैन । सन्दीपले आइपिएलमा पाउने पारिश्रम अघिल्लो घटी नहुने बताइएको छ । सन्दीप गत सिजन ३२ लाख रुपैयाँमा आवद्ध भएका थिए ।

आइपिएल आगामी २३ मार्च सुरु हुने बताइएको छ । भारतमा हुने आम निर्वाचनका कारण आइपिएल युएई वा दक्षिण अफिामध्ये एक स्थानमा गर्ने तयारी गरिएको छ । जुनमा हुने आइसिसी एक दिवसीय विश्वकपका कारण आइपिएल गत सिजनभन्दा एक महिनाअघि हुने लागेको छ ।

सन्दीप महिनाको सुरुवातमा युएईमा भएको टि-१० लिगमा सहभागिता जनाएर नेपाल फर्किएका थिए । युएईमा १५ दिन चलेको लिगमा सन्दीप केरला नाइट्ससँग आवद्ध थिए ।

सन्दीपले खेलिसकेका फेन्चाइज लिग
टि २० ब्लिज (हङकङ), आइपिएल (भारत), ग्लोबल टि-२० (क्यानडा), सिपिएल (वेस्ट इन्डिज), एपिएल (अफगानिस्तान), पिपिएल (नेपाल), टि-१० (युएई), इपिएल (नेपाल)

सन्दीपले खेल्ने आगामी लिग

बिबिएल (अस्ट्रेलिया) – डिसेम्बर १९ देखि फब्रुअरी ४ सम्म – ६० हजार डलर
बिपिएल (बंगलादेश)- अक्टुबर १ देखि फेब्रुअरी ८ सम्म – ६० हजार डलर
पिएसएल (पाकिस्तान) ( फेब्रुअरी १४ देखि १७ मार्चसम्म – ५० हजार अमेरिकी डलर
आइपिएल (भारत)- २३ मार्चदेखि अप्रिलसम्म (तय हुन बाँकी) – कम्तिमा ३२ लाख रुपैयाँ

Facebook Comments

3 प्रतिक्रिया