विकिनी बडी बनाउन वर्षाको कसरत

चलचित्र ‘भैरे’ मा समावेश ‘सान्नानीलाई’ बोलको गीतमा आफूलाई नियालेपछि नायिका वर्षा शिवाकोटीलाई पीर लाग्न थाल्यो । यो गीतमा उनी निकै मोटी देखिएकी छन् । उनले युट्युबमा आएका कमेन्टहरु पनि पढिन् । उनको मोटाइबारे थुप्रैले टिप्पणी गरेका थिए । त्यसपछि उनलाई लाग्यो, हैट अब त दुब्लाउनैपर्छ । वर्षा अहिले जिम धाउन थालेकी छन् । ललितपुरमा रहेको एउटा क्लबमा उनी दैनिक पुग्ने गर्छिन् । करिब दुई घन्टा स्यास्या गर्दै पसिना बगाउँछिन् ।

डेढ महिनादेखि जिम जान थालेकी हुन् उनी । ५५ केजी तौल भएपछि जिम जान थालेकी वर्षा अहिले ५ केजी घटिसकेको बताउँछिन् । तर, चलचित्रको छायांकनको समयमा खानेकुरा बढी खाने भएकाले फेरि मोटाइने चिन्ता उनलाई छ । उनको योजना ४५ केजी तौल बनाउनेछ । खासगरी उनलाई आफा पुक्क परेका गाला घटाउनुछ ।

दैनिक जिम गर्दा गाह्रो हुने उनले अनुभव सुनाइन् । उनले पर्सनल ट्रेनर नै राखेर जिम गरिरहेकी छन् । वर्षाको योजना विकिनी बडी बनाउने हो । उनले भनिन्, ‘मलाई ट्रेनरले कुन सेप बनाउने भनेर फोटो देखाउँदा मलाई विकिनी बडी भनेको थाहा भयो । यसैले, यही शैलीको सेप नै बनाउने तयारी गरेकी हुँ । विकिनी बडी बनाएर विकिनी नै लगाउने चाहिँ होइन ।’

वर्षाले आफूले खोजेजस्तो शरीर २ महिनामा बन्ने आशा लिएकी छन् । पछिल्लो समय सेतो कुरा केही पनि नखाएको वर्षाले बताइन् । उनले भनिन्, ‘मैले सेतो चिज खान नै छाडेँ । नुन, चिनी, चामल, मिठाइ पनि खादिनँ ।’

यो अभ्यास गर्न थालेपछि आफूले मिठाइ छाडेको उनले बताइन् । हप्तामा तीनपटक मिठाइ खाने गरेकी वर्षाले अहिले यो चटक्कै छाडेकी छन् । पर्दामा देखिने कलाकारका लागि फिटनेस औधि जरुरी छ । अझ नायिकाको हकमा त थोरै मोटी देखिँदा पनि दर्शकले टिप्पणी गर्ने, काम नपाइने पीर हुन्छ । अर्कोतिर लामो समयसम्म पनि फिट र जवान देखिनुपर्ने बाध्यता उनीहरुलाई छ ।

Facebook Comments

6 प्रतिक्रिया