सेनाले तारबार गरेपछि माइभ्याली गोल्डकप प्रभावित

इलाम, पुस ३ । इलाम सदरमुकामस्थित ठुलो टुँडीखेलमा नेपाली सेनाले काँडेतारले तारबार गरेपछि आगामी फागुनमा सञ्चालन गर्न लागिएको माइभ्याली गोल्डकपको पाँचौँ संस्करण प्रभावित हुने अवस्थामा पुगेको छ ।

माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गरेर सेनाको असहयोगका कारण प्रतियोगिता गराउन नसकिने जनाएको छ । सेनाले आफो जग्गा सुरक्षित गर्न भन्दै खेल मैदानको माथिल्लो भागमा काँडेतार राखेपछि प्रतियोगिता गराउन असम्भवजस्तै भएको माइभ्याली फुटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङले बताए ।

अखिल नेपाल फुटबल संघ एन्फाले आगामी माइभ्याली गोल्डकपको यो संस्करणलाई आफो क्यालेन्डरमा फागुन २३ गतेदेखि चैत २ गतेसम्म गर्ने गरी स्वीकृति दिएकोे थियो । एन्फाले आयोजक माइभ्यालीलाई तोकिएको समयमा प्रतियोगिता सम्पन्न गराउन निर्देशन समेत दिइसकेको छ । खेल मैदान संरक्षण गर्न सहकार्य गर्न र तारबार नगर्न सेना प्रमुखसँग पटकपटक आग्रह गर्दा तारबार नगर्ने आश्वासन दिए पनि त्यसविपरीत कार्य भइरहेको एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले बताए । ‘काँडेतारका बीचमा यसपटकको प्रतियोगिता गर्न सकिँदैन, एउटा खेलाडी अथवा दर्शकलाई चोट लाग्दा त्यसको जिम्मेवारी को हुने’, माइभ्यालीका अध्यक्ष चेम्जोङले भने, ‘यो जोसुकैको स्वामित्वमा भए पनि सार्वजनिक स्थलका रूपमा इलामे नागरिकले बुझेका छन्, राणाकालदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको र विभिन्न खेल प्रतियोगिता हुँदै आएको स्थानलाई स्थानीय सरकारको मातहतमा रहने व्यवस्था गरिदिन हामी सरकारसँग माग गरिरहेका छौँ ।’

काँडेतार लगाइएको क्षेत्रमा दर्शकहरु बस्नुपर्ने र मान्छे हिँड्ने मुख्य बाटो पनि त्यही भएकाले चोटपटकको सम्भावना बढी भएकाले प्रतियोगिता आयोजना गर्न समस्या भएको अध्यक्ष चेम्जोङको भनाइ छ । माइभ्याली गोल्डकप ‘ए’ डिभिजनका फुटबल क्लबले खेल्दै आएको पूर्वी पहाडको ठुलो प्रतियोगिता हो । अखिल नेपाल फुटबल संघ एन्फाले पनि यो वर्ष मोफसलको प्रतियोगिता गर्नेमध्ये आयोजक माइभ्यालीलाई देशभरको उत्कृष्ट तीनमा राखेको थियो ।

राणाकालदेखि नै खेल मैदानका रूपमा प्रयोग भइरहेको यो टुँडीखेललाई नेपाली सेनाले आफो स्वामित्वमा रहेको भन्दै सर्वसाधारणलाई प्रवेशमै रोक लगाउनुले जिल्लाकै खेल क्षेत्रलाई पाखा लगाएको एन्फाका केन्द्रीय सदस्य खड्गीले बताए । ‘यो गोल्डकपको चौथो संस्करणसम्म विदेशी खेलाडी ल्याएर खेलाउन यो खेल मैदानलाई जिल्ला फुटबल, संघ, एन्फा र माइभ्याली गोल्डकपले २७ देखि ३० लाख लगानी गरेको थियो’, खड्गीले भने, ‘खेल मैदानलाई नरम बनाउन दुबो रोपेर खेल्न योग्य बनाएका थियौँ । अहिले सेनाले कब्जा जमाएपछि खेल खेलाउन पनि नसकिने गरी खेल मैदान बिग्रिएको छ ।’

साँघुरो सडकको छेउमा काँडेतार राखिएपछि त्यसमा परेर बालबालिकाको पोशाक च्यातिएको र अन्य साना गाडी तथा मोटर साइकललाई पार गर्न समेत गाह्रो भएको स्थानीयले बताएका छन् ।

इलामस्थित पशुपतिप्रसाद गणका प्रमुख असिमदीप गुरूङले तारबार गरेर अझ खेल मैदानको संरक्षण गरेको बताए । ‘हामीले कुनै पनि प्रतियोगिता रोक्ने काम गर्न खोजेका छैनौँ, अझ एक हजार वाटको २४ वटा बत्ती राख्ने तयारी गर्दैछु’, गुरूङले भने, ‘माथिबाटै आफा जमिनको सुरक्षा गर्न निर्देशन भएअनुसार यहाँ काम गरिएको हो, अब तारबार हटाउन माथिबाटै स्वीकृत लिनुपर्छ ।’ तर, प्रतियोगिता नै रोक्ने भन्ने नभएको गुरूङको भनाइ छ । ‘आज मैले उहाँहरूलाई बोलाएको छु । आउनु हुन्छ’, उनले भने ।

माइभ्याली फुटबल क्लबले बाँसको प्याराफिट बनाएर प्रतियोगिता सञ्चालन गर्दै आएको थियो । गएको बर्खायाममा खेल मैदानको तल्लो भाग पहिरो गएपछि त्यहाँ पनि सेनाले पहिरो रोक्ने काम अहिलेसम्म गरेको छैन । तल्लो भागको पहिरो रोक्न ल्याइएको ग्याभिङवालको तार त्यसै अलपत्र परेको माइभ्याली फुटबल क्लबले जनाएको छ ।

Facebook Comments