‘गोपी’ ट्रेलरमा गाइपालकको कथा

नेपाल भित्रकै मौलिक कथालाई खोजी गर्दै पछिल्लो समयमा केही चलचित्र निर्माण हुन थालेका छन् । विदेशी कथावस्तुलाई दर्शकले मन पराउन छाडेपछि नेपाली कथावस्तुमै चलचित्र निर्माण गर्ने सोचमा केही निर्माता लागेको देखिन्छ । हालै मात्र दर्शकले नेपाली मौलिक कथाको चलचित्र ‘प्रसाद’लाई रुचाएका थिए ।

अब गाई पाल्ने एक कृषकको कथामा चलचित्र निर्माण भएको छ । माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को ट्रेलर सार्वजनिक भएको छ । यो ट्रेलरमा नेपालमै राम्रो पढाई गरेर विदेश नगई देशमै गाइपालन गर्ने एक युवकको कथालाई उठान गरिएको छ ।

चलचित्रको शीर्ष भूमिकामा नायक विपीन कार्कीलाई देखाइएको छ । उनलाई नायिकाद्वय वर्षा राउत र सुरक्षा पन्तले साथ दिएका छन् । दीपेन्द्र लामाको कथा तथा निर्देशनमा तयार भएको यो चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा छ । चलचित्रमा श्रीधर पौडेल कार्यकारी निर्माता छन् भने आरोही केसीको लगानी छ । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

निर्देशक लामाले चलचित्रभित्र हाँस्यरस प्रशस्त भए पनि कथावस्तु नमोडियोस् भन्नका लागि ट्रेलरमा त्यसलाई उल्लेख्य समावेश नगरेको बताए । नायिका वर्षा राउतले चलचित्रको कथा राम्रो लागेकाले आफू अन्तिम समयमा भए पनि जोडिएको बताइन् । चलचित्रका मुख्य कलाकार विपिन कार्कीले आफूले समय थोरै पाए पनि राम्रो काम गर्ने कोसिस गरेको सुनाए । चलचित्रको पटकथा लेखेका सामिप्यराज तिमिल्सिनाले यो चलचित्रले कुनै धर्मलाई प्रमोशन नगरेको सुनाए ।

Facebook Comments