समृद्ध बन्ने प्रयासमा हल्दिबारी

गोपिन पोखरेल –

झापा / झापाको हल्दिबारी गाउँपालिकाले समृद्ध गाउँपालिका बनाउने अभियानलाई पूर्णता दिन महत्वपूर्ण निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनको अध्यक्षतामा मंसिर ५ गते बसेको नियमित बैठकले विभिन्न १३ वटा विषयमा छलफल गरी निर्णय समेत गरेको हो ।

गाउँपालिकाले सर्वसम्मत गरेको निर्णय अविलम्ब कार्यान्वयन गरी हल्दिबारीलाई समृद्धिको दिशामा अघि बढाउने योजना तयार गरेको प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।

के के भए निर्णय

प्रवक्ता पोर्तेलका अनुसार बैठकले संघीय सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेशबमोजिम गाउँपालिका र वडा कार्यालयमा कार्यरत कर्मचारी जयप्रसाद पोखरेल, भजनबहादुर संग्रौला, पाथलसिंह राजवंशी, छविकला चाम्लिङ र मानबहादुर राउतलाई समायोजनका लागि सिफारिस गरेको छ ।

पर्यटकीय स्थल र स्मृति पार्क बन्ने

‘फेरि पनि घुम्न जाउँ हल्दिबारी गाउँ’ भन्ने कार्यक्रमअन्तर्गत बैठकले साविक जलथलको जलथल जंगल र हल्दिबारीको भेलागडी जंगललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, त्यस क्षेत्रलाई गाउँपालिकाको गौरवको आयोजनाको रुपमा विकास गरी भेलागडी जंगलमा लोकतान्त्रिक स्मृति पार्क निर्माण गर्ने निर्णय गरेको छ ।

पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट विनियोजित १ करोड ३० लाख र हल्दिबारीको दोस्रो गाउँसभाले विनियोजन गरेको १० लाख गरी १ करोड ४० लाख बजेट विनियोजन गरेको छ । उक्त आयोजनालाई बहुवर्षे आयोजनाको रुपमा स्वीकृत गरी डिपिआरबमोजिम ८ करोड ३४ लाख ३१ हजार ४ सय ५६ रुपैयाँ बराबरको पार्क निर्माण कार्य अघि बढाउने निर्णय गरेको छ ।

काठे पुलमुक्त गाउँपालिका

गाउँपालिकाको पहिलो गाउँसभाले हल्दिबारीलाई ३ वर्षभित्र काठे तथा बाँसे पुलमुक्त गाउँपालिका घोषणा गर्ने नीति पारित गरेको थियो । सोही नीतिअनुसार गाउँपालिकाले गत आर्थिक वर्षमा निर्माण सुरु भई अधुरो रहेका ३९ वटा पुल तथा कल्भर्ट अभिलम्ब निर्माण सम्पन्न गर्ने पनि निर्णय गरेको छ । अधुरा पुल तथा कल्भर्ट निर्माणका लागि विनियनेजन गरेको १ करोड बजेटबाट टोल विकास संस्थालाई परिचालन गरी निर्माण कार्य अघि बढाउने बैठकको निर्णय छ । नयाँ निर्माण गर्नुपर्ने पुल तथा कल्भर्टको लागि वडा नम्बर १ र २ लाई १ करोड ५० लाखका दरले वडा नम्बर ३, ४ र ५ लाई ७५ लाखका दरले बजेट उपलब्ध गराउने जनाइएको छ ।

वडा समितिले छनोट गरेका आयोजना निर्माण गर्न, लागत अनुमान तथा डिजाइन स्वीकृतका लागि बैठकले गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनको संयोजकत्वमा गाउँपालिकाका उपाध्यक्ष, सम्बन्धित वडाध्यक्ष, पूर्वाधार विकास समिति प्रमुख र प्राविधिक शाखा प्रमुख सचिव रहेको समिति समेत निर्माण गरेको छ ।

गाउँपालिकाभित्र बाँकी पुल निर्माण गर्दा २० लाखसम्मको लागतमा सम्पन्न हुने पुल भए गाउँपालिका आपैmँले निर्माण गर्ने, त्यो भन्दा माथि ५० लाखसम्म लाग्ने भए प्रदेश सरकारसँग माग गर्ने र ५० लाखभन्दा माथि लागत लाग्ने पुल निर्माणका लागि केन्द्र सरकारसँग माग गरी अबको २ वर्षभित्र काठेपुलमुक्त गाउँपालिका घोषणा गर्ने हल्दिबारीले लक्ष्य लिएको छ ।

त्यो लक्ष्य पूरा गर्न गाउँपालिकाले यस वर्षभित्र २० लाख रुपैयाँ लागतमा बन्ने पुल तथा कल्भर्ट निर्माण गरिसक्ने जनाएको छ । पुल तथा कल्भर्ट निर्माण गर्दा यात्रु र सवारी साधनको आवागमन चापको आधारमा यात्रु तथा सवारीको उच्च चाप, मध्यम चाप र यात्रु तथा सवारीको न्यून चाप गरी विभाजन गरेर आवश्यकताको आधारमा निर्माण गरिने प्रवक्ता पोर्तेलले बताए ।

कल्याण कोष र परिचयपत्र

करारका कर्मचारी र स्वयम्सेविकालाई कार्य अवधिको आधारमा उपादान दिन कर्मचारी कल्याण कोष नियमावली र बालबालिका तथा ज्येष्ठ नागरिकलाई परिचयपत्र जारी गर्न हल्दिबारीले अपाङ्गता परिचयपत्र वितरण कार्यविधि २०७५ पारित गरेको छ । ५ वर्ष वा सोभन्दा बढी अवधि हल्दिबारी गाउँपालिकाको विकासमा सहयोग पुर्याउने अस्थायी, करार, निजी स्रोतमार्फत कार्यरत कर्मचारी र महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई अवकाशपश्चात कार्य अवधिको आधारमा बढीमा मासिक १ हजारका दरले उपदान उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

शैक्षिक सुधारमा जोड

बैठकले वडा नम्बर २ को हल्दिबारी माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न तयार पारिएको गुरुयोजना स्वीकृत गरेको छ । गाउँपालिकाको शैक्षिक स्तर उकास्न, विज्ञान विषयमा विद्यार्थीलाई दक्ष बनाउन गाउँपालिकाले विज्ञान विषयका शिक्षक करारमा नियुक्त गरी विद्यालयमा पठाउने नीति लिएको छ ।

गाउँपालिकाअन्तर्गतका लक्ष्मी माध्यमिक विद्यालय, पञ्चायत मावि, सरस्वती मावि, धनुषा आधारभूत विद्यालय, मोती आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय र गरमकाली आधारभूत विद्यालयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान विषयको १÷१ जना शिक्षक करारमा नियुक्तिको प्रक्रिया अघि बढाउने जनाएको छ ।

स्वास्थ्य चौकी निर्माण

हल्दिबारी ३ र ५ मा स्वास्थ्य चौकी निर्माणका लागि न्यूनतम ८ कठ्ठा निःशुल्क जग्गा प्राप्तिको लागि सूचना प्रकाशन गरी अविलम्ब स्वास्थ्य चौकी निर्माण गर्ने निर्णय गरेको छ । जलथल स्वास्थ्या चौकीमा बर्थिङ सेन्टर र ल्याब सञ्चालनमा आइसकेको छ । निकट भविष्यमै वडा नम्बर १ गोलधापमा पनि ल्याब सञ्चालन गर्ने योजना छ ।
पारदर्शी र उत्तरदायी सेवा
गाउँपालिकाको सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन विज्ञमार्फत सार्वजनिक परीक्षण तथा सामाजिक परीक्षणको प्रक्रिया अघि बढाउने बताइएको छ । गाउँपालिकाको सार्वजनिक खरिद नियमावलीको मस्यौदाका लागि कार्यपालिका सदस्य सागर पोर्तेलको संयोजकत्वमा वडा नम्बर १ का अध्यक्ष त्रिलोचन सापकोटा, २ का अध्यक्ष राजेन्द्र योङहाङ, ३ का अध्यक्ष रोशन शिवाकोटी, ४ का अध्यक्ष होम चुडाल, वडा नम्बर ५ का वडाअध्यक्ष शेरबहादुर नेम्वाङ र खरिदार नारायण दाहाल सदस्य सचिव सम्मिलित मस्यौदा समिति निर्माण गरेको छ ।

साथै, गाउँपालिका क्षेत्रभित्र निर्माण सम्पन्न भएका भवन तथा घरहरुलाई ५० प्रतिशत छुट दिई चैत मसान्तभित्रमा अभिलेखीकरण गर्ने, नयाँ बन्ने घरहरुको हकमा अनिवार्य नक्सा पास गर्ने अभियान सञ्चालन गर्ने, अभियान टोल विकास संस्थाको अगुवाईमा चलाउने र टोल विकासको अगुवाईमा संकलित राजस्वको १५ प्रतिशत रकम सम्बन्धित टोल विकास संस्थालाई नै उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

हल्दिबारीको दृष्टि कृषि र पर्यटनमार्फत समृद्धि

यसैगरी, आर्थिक समृद्धिका लागि गाउँपालिकाले गाउँसभाबाट पारित गरेर विभिन्न कार्यक्रममुलक नारा पनि तय गरेको थियो । ‘हल्दिबारीको दृष्टि कृषि र पर्यटनमार्फत समृद्धि’ भन्ने नारा कार्यान्वयन गर्न ‘हल्दिबारीको बाचा झापाभरी माछा’ र ‘किसानको खुसी पशुपालन र कृषि’ भन्ने दुईवटा कार्यक्रम सुरु गरिसकेको छ ।

जसअन्तर्गत कृषकलाई जाँै घाँसको बीऊ, गाईपालक कृषकलाई कृत्रिम गर्भाधानमार्फत बच्चा जन्माए पशु सुत्केरी भत्ता उपलब्ध गराउँदै आएको छ । कुखुरापालन, बाख्रापालन, सुगुरपालनका लागि खोर निर्माणमा कृषकलाई अनुदान दिने कार्यक्रम पनि सुरु भएको कार्यपालिका सदस्य पोर्तेलले जानकारी दिए ।

Facebook Comments