झापाको एकसहित पाँच सिमेन्ट गुणस्तरहीन

झापा, पुस १२ । मापदण्डविपरीत सिमेन्ट बिक्री गर्ने झापासहितका विभिन्न सिमेन्ट उद्योगमाथि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही अघि बढाएको छ । यसअघि विभागले सिमेन्ट उद्योगलाई कारबाहीको चेतावानी दिएको थियो ।

सिमेन्टमा हुनुपर्ने न्युनतम मापदण्ड पूरा नगरेको र सिमेन्ट गुणस्तरहीन रहेको भन्दै विभागले यी सिमेन्ट उद्योगलाई कारबाहीको चेतावानी दिएको थियो । कारबाहीका लागि पत्र काटिएका उद्योगहरुमा झापाको गोरखकालीसहित, सगरमाथा सिमेन्ट, शुभश्री जगदम्बा सिमेन्ट, होङ्सी सिमेन्ट रहेका छन् ।

विभागले अत्यधिक गुणस्तरहीन भेटिएपछि गणपति सिमेन्ट बिक्री वितरणमा रोक लगाएको छ । विभागले गोरखकाली, होङ्सी, गणपति र शुभश्री जगदम्बा सिमेन्ट बजारबाट फिर्ता गर्न सञ्चालकलाई पत्राचार गरेको छ । विभागले गुणस्तरहीन भन्दै खरिद नगर्न उपभोक्तालाई आग्रहसमेत गरेको छ ।

विभागले झापा, मोरङ, काठमाडौँ, ललितपुर, जनकपुर र बारा पुगेर ३४ वटा नमुना लिई परीक्षण गरेको थियो । यसरी परीक्षण गर्दा गोरखकाली, होङ्सी, गणपति र शुभश्री जगदम्बालगायतका सिमेन्ट पूर्ण रुपमा गुणस्तरहीन भेटिएको प्रवक्ता उपनिर्देशक रोमी मानन्धरले जानकारी दिइन् । ‘अहिले हामीले सुधार गर्न स्पष्टीकरण सोधेका छौँ । सुधार नगरे इजाजतपत्रसमेत रद्द गरिनेछ’, प्रवक्ता मानन्धरले भनिन् ।
सिमेन्टमा हुने म्याग्नेसियम अक्साइडको मात्रा मापदण्डभन्दा बढी भएको भन्दै यी सिमेन्ट उद्योगमाथि कारबाहीको प्रक्रिया सुरु गरिएको हो । गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा अधिकतम ५ प्रतिशतसम्म एमजिओ अर्थात् म्याग्नेसियम अक्साइडको मात्रालाई छुट दिएको छ । तर, गुणस्तर तथा नापतौल विभागले गरेको ल्याब टेस्टमा यी सिमेन्टहरुमा म्याग्नेसियम अक्साइडको मात्रा मापदण्डभन्दा बढी पाइएको थियो ।

विभागले गरेको नमुना संकलन र परीक्षणका क्रममा यी सिमेन्टहरुमा एमजिओको मात्रा ५ दशमलव ८ प्रतिशतसम्म भेटिएको छ । विभागले केही समयअगाडि मात्रै सगरमाथा र गोरखकाली सिमेन्टमा एमजिओको मात्रा बढी पाइएको भन्दै तत्काल सुधार नगरे उत्पादन नै बन्द गरी उद्योगको सम्बन्धन खारेज गर्नेसम्मको चेतावनी दिएको थियो ।

विभागले गरेको ल्याब टेस्टमा बाँकी ३ सिमेन्टमा पनि एमजिओको मात्रा बढी भेटिएपछि कारबाहीका लागि अघिल्लो साता मात्रै पत्र काटेको हो । ओपिसी र पिपिसी सिमेन्टमा पाइने तत्वहरुमा म्याग्नेसियम अक्साइड अर्थात् एमजिओ पनि एक तत्व हो । सिमेन्टमा यसको मात्रा जति कम भयो, त्यसलाई राम्रो मानिन्छ ।

Facebook Comments