जयगाउँमा नील डेविड्स सलुनको ६० औँ शाखा

बिर्तामोड, पुस १९ । नेपालका अन्तर्राष्ट्रिय हेयर स्टाइलिष्ट नील डेविड कटवालको नील डेविड्स इन्टरनेसनल युनिसेक्स सलुनको ६० औँ शाखा भारतको पश्चिम बंगालस्थित जयगाउँमा सञ्चालनमा आएको छ ।

भुटानको सीमामा रहेको जयगाउँमा बुधबार नील डेविड स्वयमले रिबन काटेर सलुनको उद्घाटन गरेका हुन् । सन् २०१९ को पहिलो सलून इन्जिनियर सुनिल अग्रवाल र रिम्पल अग्रवालले करिब २५ लाख भारतीय रुपैयाँ खर्च गरेर नील डेविड्स ब्रान्डको फ्रेन्चाइज सलुन खोलेका हुन् ।

नील डेविड्स ब्रान्डले यतिबेला भारतमा राम्रो छाप छोड्दै गएको छ । यसका साथै नील डेविडले नेपाली हेयर स्टाइलिष्ट भएर नेपाललाई पनि चिनाइरहेका छन् । सन् २०२२ सम्ममा भारतमा एक सयवटा सलुन खोल्नका लागि नील डेविडले दिल्लीको शिवमाया ग्रुपसँग सम्झौता गरिसकेका छन् ।

यसका साथै भिनस इन्टरनेसनल ग्रुपले पनि भारतको उत्तर प्रदेशका लागि मास्टर फ्रान्चाइज लिएलगत्तै यही जनवरी १५ तारिख आग्रा सहरमा पनि नील डेविड्स सलुन उद्घाटन हुँदैछ । यसबाहेक भारतको नोयडा, गाजियावाद, झासी, मीरुत तथा लखनउमा पनि नील डेविड्स सलुन सञ्चालनको तयारीमा छन् ।

नील डेविड्सको ब्रान्ड अब नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पनि लोकप्रिय हुँदैछ भने नेपाली ब्रान्डको रुपमा बिस्तारसमेत भइरहेको छ । उनले हालै भारतमा एसिया प्राइड अवार्ड पाएका थिए ।

Facebook Comments

Advertisement