अवैध उत्खनन रोक्न बिर्तामोड नगरपालिकालाई निर्देशन

बिर्तामोड, पुस २४ । जिल्ला अनुगमन तथा समन्वय समिति झापाले अवैध नदी उत्खनन रोक्न बिर्तामोड नगरपालिकालाई निर्देशन दिएको छ ।

मंगलबार समन्वय प्रमुख सोमनाथ पोर्तेलको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, एसपी भीम ढकाल, सशस्त्रका एसपी रेशमकुमार थक्सुसहितको अनुगमन टोलीले स्थलगत निरीक्षण गर्दा बिर्तामोड ७ स्थित देउनिया खोलामा अवैध ढंगबाट नदी उत्खनन गरिरहेको भेटिएको थियो ।

मन्त्रिपरिषदको २०७५ असोज २८ गतेको निर्णयबमोजिम जारी भएको जिल्ला अनुगमन तथा समन्वय समिति निर्देशिकाअनुसार गठन भएको नदीजन्य तथा ढुंगा गिट्टी र बालुवा, खानीजन्य पदार्थ उत्खनन, संकलन बिक्री सम्बन्धी जिल्ला अनुगमन तथा समन्वय समितिले मंगलबार स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनको सिलसिलामा बिर्तामोड ७ स्थित सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन क्षेत्रअन्तर्गत देउनिया खोलामा बिर्तामोड नगरपालिकाबाट सम्बन्धित नदीको प्रारम्भिक वातावरण परीक्षण नगरी नदीजन्य सामग्रीहरु उत्खनन गरेको पाइएको समितिका सदस्य सचिव गोपाल लिम्बूले बताए ।

अनुगमनका क्रममा एउटा स्काभेटर, सामग्री उठाउन प्रयोग हुने जेसिभी दुईवटा, टिप्पर १० वटा नदी र नदी किनारमा फेला परेको थियो ।

Facebook Comments