मदिराका कारण झापामा ६७ प्रतिशत घरेलु हिंसाका घटना

झापामा भइरहेका अघिकांश घटनाको मुख्य कारण मदिरा हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷७५ का एक हजार ६ सय ८७ घटनामध्ये पाँच सय १२ वटाको मुख्य कारण मदिरा थियो । चालु आर्थिक वर्षमा हालसम्म भएका पाँच सय ७२ मध्ये ८९ वटा घटना मादक पदार्थकै कारण भएको प्रहरीको भनाइ छ ।

शान्ति सुरक्षाविरुद्धका घटनाको तथ्यांकमा पनि मदिरा नै मुख्य कारक देखिन्छ । गत वर्ष भएका ६ सय ७५ वटा शान्ति सुरक्षाविरुद्धका घटनामा एक सय ९५ वटाको मुख्य कारण मदिरा थियो । चालु आर्थिक वर्षको पाँच महिनामा भएका एक सय ४८ वटा शान्ति सुरक्षाविरुद्धका घटनामा ६२ वटा मादक पदार्थ सेवनकै कारण भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरेलु हिंशाका घटनाको कारक पनि मदिरा नै देखिन्छ । आर्थिक वर्ष २०७४÷०७५ मा भएका ६९ मध्ये ४५ वटा घरेलु हिंशाका घटना मादक पदार्थ सेवनका कारण भएको थियो । चालु आर्थिक वर्षमा भएको घरेलु हिंशाका ६८ घटनामध्ये ४६ वटाको कारण मदिरा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । ‘समग्र तथ्यांकलाई हेर्दा औसतमा ६७ प्रतिशतभन्दा बढी घरेलु हिंशाका घटना मादक पदार्थ सेवनका कारण भएका छन्,’ प्रहरी उपरीक्षक ढकालले भने ।

चालु आर्थिक वर्षको ४ महिनामा विभिन्न घटनाका कुल एक हजार नौ सय ६३ वटा ठाडो निवेदन परेकोमा मादक पदार्थ सेवनकै कारण ६ सय १३ वटा घटना भएको प्रहरीको तथ्यांकले देखाउँछ । गम्भीर प्रकारका अपराधका घटना मादक पदार्थ सेवनकै कारण हुने गरेको प्रहरी उपरीक्षक ढकालले बताए ।

Facebook Comments