बिर्तामोडमा बजाज आरई तीन पाङ्ग्रेको सर्भिस सेन्टर

बिर्तामोड / हलेसी ट्रेड लिंक बिर्तामोडले बजाज आरई तीन पाङ्ग्रे (टेम्पो)को आधिकारिक सर्भिस सेन्टर (वर्कसप) बिहीबारबाट बिर्तामोडमा शुभारम्भ गरेको छ ।

सर्भिस सेन्टरको हंसराज हुलास चन्द कम्पनी प्रालिका डीजीएम योगेन्द्र श्रेष्ठ, स्पेयर हेड अभिषेक अग्रवाल, सर्भिस हेड अनिल पाण्डे र हलेसी ट्रेड लिंकका सञ्चालक चूडामणि पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् । सर्भिस सेन्टरको उद्घाटनसँगै बजाज कम्पनीका अटो रिक्सा सञ्चालकहरुले अटो रिक्सा मर्मतमा अब कुनै समस्या बेहार्नु नपर्ने सञ्चालक पौडेलले बताए । स्वागत मन्तव्य राख्दै उनले भने, ‘ब्रान्डेड स्पेयर पार्टस् उपलब्ध गराई बजाज आरई अटो रिक्साका ग्राहकलाई भरपर्दो सेवा सुविधा प्रदान गर्ने उद्देश्यले हामीले यो सर्भिस सेन्टर सञ्चालनमा ल्याएका हौँ ।’

सोही अवसरमा १५ वटा बजाज आरई अटो रिक्सा खरिद गरी रोजगारी सिर्जना गर्न मद्दत र्पुयाएको भन्दै प्रभाती ग्यारेजका सञ्चालक रमेश राजवंशीलाई सम्मान समेत गरिएको छ । उद्घाटन समारोहमा कम्पनीका अजय सिंह, जोशन विष्ट, गौरव केड्या, हलेसी टे्रड लिंककी रचना पौड्याल लगायत बजाज आरईका ग्राहकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा हलेसी ट्रेड लिंकका सञ्चालक चूडामणि पौडेलको शब्द रचना रहेको ‘हुरहुरेको चिसो हावाले…’ बोलको गीत गायक सन्तोष शिवाले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका युवराज अधिकारीले गरेका थिए ।

Facebook Comments