भगवतीको ‘प्रेमिल’ प्रचण्डद्वारा विमोचन

झापा, पुस २९ । झापाली साहित्यकार भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘प्रेमिल’ को एक कार्यक्रमका बीच शनिबार काठमाडौँमा विमोचन गरिएको छ ।

उपन्यासको पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमोचन गरेका हुन् । सहयात्री दर्पण नेपालको सम्पादनमा प्रकाशित पुस्तक साहित्यकार ढुङ्गेलको दोस्रो उपन्यास हो । यसअघि उनको ‘आधा सत्य’ पुस्तक प्रकाशित भइसकेको छ ।

कार्यक्रममा अध्यक्ष दाहालले राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण गर्न सकिने बताए । उपन्यास ‘प्रेमिल’ को विमोचन गर्दै उनले राजनीतिले गर्ने समाजको रुपान्तरणमा साहित्यले पनि सहयोग गर्ने बताए । साहित्यद्वारा अभिप्रेरित कुरालाई राजनीतिले दिशाबोध गर्ने उनको भनाइ थियो ।

जनताले भोगको दुःख र सुखलाई साहित्यका रुपमा राजनीतिक दलले समेट्नु पर्नेमा उनले जोड दिए । नेपालको राजनीतिक आन्दोलन गीत, कविताजस्ता साहित्यबाट हुने गरेको भन्दै उनले नेपालमा विभिन्न समयमा भएका आन्दोलन सफल बनाउन साहित्यको ठुलो भूमिका रहेको बताए ।

कार्यक्रममा गीतकार कृष्णहरि बराल, कथाकार माया ठकुरी, साहित्यकार कृष्ण धरावासी, लक्ष्मी दाहाल, थापाथली इन्जिनियरिङ क्याम्पसका क्याम्पस प्रमुख जनार्दन भट्टलगायतले अहिले भइरहेको सामाजिक यथार्थलाई लेखिकाले उपन्यासमा चित्रण गरेको बताए । लेखिका ढुङ्गेलले समाजमा नारी र पुरुषबीचको सम्बन्धलाई उपन्यासमा उल्लेख गरिएको बताइन् ।

कार्यक्रम सहयात्री दर्पण नेपालका अध्यक्ष गोविन्द कँडेल आँसुको अध्यक्षतामा भएको थियो ।

Facebook Comments