भ्वाइस अफ नेपालको पूर्वमा लाइभ कन्सर्ट हुने

बिर्तामोड, माघ ३ । विश्वको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालले पूर्वका चार स्थानमा पूर्वाञ्चल टुर लाइभ कन्सर्ट गर्ने भएको छ ।

दर्शकहरुलाई प्रत्यक्ष मनोरञ्जन दिने उद्देश्यले धरान, बिर्तामोड, पथरी र केरखामा कन्सर्ट गर्न लागेको बिहीवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

धरानमा माघ २१, बिर्तामोडमा २२, पथरीमा २५ र केरखामा २६ गते कन्सर्ट गर्न लागिएको जानकारी गराइएको छ । पहिलो सिजनका उत्कृष्ट चारजना र अन्य केही प्रतियोगीसहितको पूर्वाञ्चल टुर हुन लागेको जनाइएको छ ।
कन्सर्टमा पहिलो सिजनका उत्कृष्टहरु सिडी विजय अधिकारी, कुशल आचार्य, श्रीजय थपलिया, सप्तक दुतराज, सानिध्या थापा, सुरज तामाङ लगायतको सांगीतिक प्रस्तुति रहनेछ ।

धरानका लागि स्थानीय आयोजक सिलभर इन्टरटेन्टमेन्ट, बिर्तामोडमा लागि नेप्लिज टिन्स र चाहना समूह, केरखाका लागि पिस ल्याम्प इन्टरनेसनल र पथरीका लागि ब्ल्याक एन्ड ह्वाइट इन्टरटेन्टमेन्ट रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।

चार स्थान हुन लागेको कन्सर्टका लागि ५० लाख अनुमानित खर्च लाग्ने आयोजक संस्थाहरुले जनाएका छन् । पत्रकार सम्मेलनमा नेप्लिज टिन्सका अध्यक्ष मनिषजंग बस्नेत, चाहना समूहका सुरज शेर्पा, पिस ल्याम्प इन्टरनेसनलका प्रेम लिम्बू, ब्ल्याक एन्ड ह्वाइट इन्टरटेन्टमेन्टका वसन्त लिम्बू र भ्वाइस अफ नेपालका प्रबन्ध निर्देशक प्रल्हादसिंह महतसहित भ्वाइस अफ नेपालका चारजना उत्कृष्ट प्रतियोगीको समेत उपस्थिति रहेको थियो ।

बिर्तामोडमा हुने कन्सर्टमा ४ हजार दर्शक उपस्थित हुने आयोजक संस्थाले लक्ष्य राखेको छ ।

Facebook Comments