कला संस्कृतिको विकासमा जोड

बिर्तामोड : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले विकास र समृद्धि भनेको भौतिक पूर्वाधार मात्र नभएर कला, साहित्य र संस्कृति पनि भएको बताएकी छन् ।

आइतबार बिर्तामोडको रेडमग क्याफेमा झापा जिल्ला नृत्य कलाकार संघले आयोजना गरेको तालिम समापन कार्यक्रममा प्रमुख अतिथि सांसद खरेलले सभ्य समाज निर्माणका लागि कला संस्कृतिको जगेर्ना आवश्यक रहेको औँल्याइन् । उनले नृत्य कलकारको पेशागत हितमा आफू प्रतिबद्ध रहेको बताइन् । उनले नृत्य प्रशिक्षकहरुले अनुशासित पहिरनमा ध्यान दिन जरुरी रहेको सुझाव दिइन् ।

कार्यक्रममा नृत्य प्रशिक्षक रोचक थापा, केपी, पौडेल, कृष्ण योञ्जन, प्याब्सन बिर्तामोडमा अध्यक्ष उत्तम खनाललगायतले प्रशिक्षार्थीलाई शुभकामना दिएका थिए । संघका उपाध्यक्ष राज शेर्माले स्वागत गरेको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष एलसी श्रेष्ठले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव राज सुब्बाले गरेका थिए ।

चार दिने सो प्रशिक्षणमा झापा, मोरङ, इलामका ४० जनाको सहभागिता रहेको थियो । सहभागीलाई नेपाली लोक सांस्कृतिक एवम् शास्त्रीय नृत्यबारे प्रशिक्षण दिइएको थियो ।

Facebook Comments