विवेचना दैनिकको सम्पादकमा सुब्रत न्यौपाने

विर्तामोड : विवेचना दैनिकको सम्पादकमा युवा पत्रकार सुब्रत न्यौपाने नियुक्त भएका छन् । प्रकाशन समूहको नेतृत्व र व्यवस्थापन परिवर्तन भएसँगै पत्रकार न्यौपानेले शुक्रवारदेखि सम्पादकको जिम्मेवारी सम्हालेका हुन् । १७ वर्षदेखि पत्रकारितामा सक्रिय न्यौपाने युवा पुस्ताका अनुभवी पत्रकार मानिन्छन् ।

सनातन साप्ताहिकबाट पत्रकारिता सुरु गरेका न्यौपानेले झापाका पूर्वाञ्चल दैनिक, जनसंसद दैनिक लगायतका पत्रिकामा सम्पादकीय समूहमा रहेर काम गरिसकेका छन् । प्रतिदिन दैनिकमा साढे चारवर्ष कार्यकारी सम्पादकको भूमिका निर्वाह गरेका पत्रकार न्यौपाने रेडियो भिजनका समाचार प्रमुख पनि हुन् । उनी एपीवान टेलिभिजनका झापा व्युरो प्रमुखका रुपमा पनि कार्यरत छन् ।

२०५० सालदेखि प्रकाशन प्रारम्भ भएको विवेचनाको प्रकाशकीय र सम्पादकीय दायित्व अब न्यौपानेको काँधमा आएको छ । यसअघिका सम्पादक हिमालचन्द्र खरेलले पत्रिकाको प्रकाशकीय दायित्व हस्तान्तरण गरेपछि न्यौपानेले जिम्मेवारी सम्हालेका हुन् । न्यौपानेको सम्पादनमा विवेचनाले अझै उचाई लिने विश्वास गरिएको छ । शुक्रवारदेखि नै विवेचनाको व्यवस्थापन पनि परिवर्तन भएको छ ।

Facebook Comments