आयल निगमद्वारा इन्धनको मूल्यबृद्धि

विर्तामोड : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २÷२ रुपैयाँ वृद्धि भएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल ९७ रुपैयाँ पुगेको छ । निगमले भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार भाउ बढाएको हो ।

निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । यो पटक मूल्य समायोजनपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुने प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा मूल्य निकै सस्तो हुँदा पनि सरकारले त्यसअनुरुप मूल्य समायोजन गरेको छैन ।

आफू सञ्चित घाटामा रहेको तर्क गर्दै निगमले मूल्य समायोजन गर्दा नाफा बढाउँदै लगेको छ । निगममा हालै मात्र सुरेन्द्र पौडेल प्रवन्ध निर्देशकका रुपमा आएका छन् । घाटामा रहेको उदयपुर सिमेन्टलाई नाफा लगेका कारण नै उनलाई निगममा जिम्मेवारी दिइएको थियो ।

तर उनको नेतृत्वले पनि विगतको जस्तै उपभोक्ताको ढाड सेकिने गरी नाफा केन्द्रित भएर मूल्य तोक्न थालेको भन्दै उपभोक्तावादीहरु आरोप लगाउँछन् । निगमले नाफा उच्च राखेर मूल्य बढाएपछि उपभोक्ता थप महङगीको मारमा पर्ने भएका छन् ।

Facebook Comments

Advertisement