सिम्रिकको स्थापना दिवस  : रक्तदान र पुरस्कार

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिहीवार आठौँ स्थापना दिवस मनाएको छ । रक्तदान, सम्मान र पुरस्कार वितरण गरेर संस्थाले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा १९५ जनाले रक्तदान गरेका छन् । रक्तदातामध्ये रेडक्रसकर्मी ओमप्रकाश लुईटेलले ६४औं पटक रक्तदान गरेका हुन् ।

प्रदेशसभाका सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा आयोजित वार्षिकोत्सव समारोहमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य महेन्द्रकुमार गिरी र लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीलाई बधाई ज्ञापन गरिएको छ ।यसैगरी, झापा जिल्लाको ट्राफिक व्यवस्थापनमा सकारात्मक परिवर्तन गरेको ठहर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश राईलाई नगद ७ हजार १०० रुपैयाँसहित कदरपत्र प्रदान गरिएको छ ।

यस्तै, पत्रकारितामार्फत् सहकारीको समाचार प्रवाह गर्ने पत्रकार तुलसीप्रसाद निरौलालाई पनि ७ हजार १०० रुपैयाँसहित प्रशंशापत्र प्रदान गरिएको छ । संस्था अन्तरगत मुख्य कार्यालयका सहायक अधिकृत यामबहादुर विष्ट र धुलाबारी सेवा केन्द्रका बजार प्रतिनिधि बिमला न्यौपानेलाई प्रशंशा पत्रसहित नगद ५ हजार १०० रुपैयाँ प्रदान गरियो ।

यसरी नै, सहकारी विभागतर्फ आर्थिक वर्ष २०७४÷०७५ मा उत्कृष्ट सेवा प्रवाह गर्ने सुरुङ्गा सेवा केन्द्र र लघुवित्ततर्फ धुलाबारी सेवा केन्द्रलाई नगद ७ हजार १०० रुपैयाँसहित कदरपत्र प्रदान गरिएको छ । संस्थाका सचिव सुवास भट्टराईले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाको ८ वर्षे सञ्चालन अवधिमा गरेका वित्तीय एवम् सामाजिक क्रियाकलापबारे अवगत गराएका थिए ।

अध्यक्ष बस्नेतले ५५ जना शेयर सदस्यबाट २० लाख ५० हजार पूँँजी संकलन गरी स्थापना गरिएको सिम्रिक साकोसमा अहिले २० हजार हाराहारी सदस्य र ८ करोडको पूँजी निर्माण गरिएको जानकारी दिए । संस्थाले अनारमनीसहित ५ वटा गाविसलाई कार्यक्षेत्र बनाएर सुरु गरेकोमा हाल झापा जिल्लाभर सेवा बिस्तार गरिएको तथा सहकारीतर्फ १४ वटा र लघुवित्ततर्फ ७ वटा सेवा केन्द्रमार्फत् सदस्यलाई सेवा प्रवाह गरिरहेको छ ।

Facebook Comments