नगरपालिकाका कर्मचारीको फुटबल हुने

भद्रपुर : झापाका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरु फुटबल मैदानमा उत्रिने भएका छन् । जनप्रतिनिधिहरुले स्थानीय तहमा जिम्मेवारी सम्हालेपछि झापामा नगरपालिकाका कर्मचारी फुटबल खेल्न दोस्रोपटक मैदानमा उत्रिन लागेका हुन् ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भद्रपुर नगरपालिका इकाईको आयोजनामा भद्रपुर माविको खेल मैदानमा यही फागुन १८ र २५ गते नगरपालिकाका कर्मचारीबीच अन्तरनगरपालिकास्तरीय कर्मचारी नकआउट फुलबल प्रतियोगिता गर्न लागिएको एशोसिएशनका अध्यक्ष प्रमोद प्रधानले जानकारी दिए । सेवाग्राहीको काम प्रभावित नहुने गरी शनिबार सार्वजनिक विदाको दिन पारेर प्रतियोगिताको तयारी गरिएको पनि प्रधानले बताए । झापामा आठवटा नगरपालिका छन् । सबै नगरपालिकाले सहभागिता जनाउने अपेक्षा गरिएको प्रधानको भनाइ छ । उनका अनुसार पहिलो चरणका चारवटा खेल १८ गते र सेमीफाइनल तथा फाइनल खेल २५ गते गरिने छ ।

प्रतियोगिताको विजेताले २५ हजार नगदसहित शील्ड तथा मेडल प्राप्त गर्नेछ भने उपविजेताले १५ हजार नगदसहित शील्ड तथा मेडल प्राप्त गर्ने एशोसिएशनका सचिव सुशील कर्णले जानकारी दिए । प्रतियोगितामा प्राविधिक सहयोग भद्रपुरस्थित मुनाल क्लवको रहने बताइएको छ । पहिलो प्रतियोगिता अघिल्लो वर्ष कनकाई नगरपालिकाको एशोसिएशनले आयोजना गरेको थियो । सो प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले जितेको थियो ।

विजेता नगरपालिकाले अर्को प्रतियोगिता आयोजना गर्नुपर्ने भन्ने निर्णय अनुसार यस वर्ष भद्रपुर नगरपालिकाले प्रतियोगिता आयोजना गर्न लागेको एशोसिएशनका सदस्य गणेश श्रेष्ठले बताए । ‘पहिलो प्रतियोगिता आयोजना गर्ने सन्दर्भमै अर्को प्रतियोगिता विजेता नगरपालिकाले गर्ने भन्ने निर्णय भएको थियो’, श्रेष्ठले भने ‘सोहीअनुसार यस पटक भद्रपुरले आयोजना गर्दैछ ।’
गंगा बरालबाट

Facebook Comments