झापा गोल्डकप : मगमग इन, रमपम आउट

बिर्तामोड । झापा गोल्डकपको चौथो संस्करणको तयारी अन्तिम भएको छ । फागुन १८ गतेदेखि सुरु हुने प्रतियोगिताको मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम पुगेको जनाएको हो ।

काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबल हबको रुपमा विकसित गराउन आयोजक लागिपरेको दाबी गरिएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने फुटबल प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ ।

गोल्डकपलाई मग मगको साथ
चौथो संस्करणमा आइपुगेको झापा गोल्डकपको यसपटक मुख्य प्रायोजक मनषा थाइ फुडको उत्पादन मग मग तयारी चाउचाउ रहेको छ । पत्रकार सम्मेलनमै मग मगसँग सम्झौता गरिएको थियो । मनषा थाइ फुडका तर्फबाट बुद्धि घिमिरे, झापा गोल्डकपका तर्फबाट अध्यक्ष महेन्द्रकुमार गिरी र झापा ११ एफसीका अध्यक्ष जलकुमार गिरीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

मग मगले यसपटक गोल्डकपलाई नगद ८ लाख र झापा ११ एफसीलाई नगद ५ लाखसहित एक लाखबराबरको खेल सामग्री प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख छ । घरेलु उत्पादन मग मगले गोल्डकप र खेलकुदको विकासका लागि सक्दो सहयोग गर्ने बताइएको छ ।

पुरस्कारमा २५ लाख
गोल्डकपको चौथो संस्करण सम्पन्न गर्दा पुरस्कारमा मात्र २५ लाखभन्दा बढी खर्च हुने आयोजकले अनुमान गरेको छ । जसमा मगमग झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने सर्वाधिक गोलकर्तालाई नगद २५ हजार दिइनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १५ हजार रुपैयाँ पाउने गोल्डकपका अध्यक्ष गिरीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यस वर्ष पनि एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।

हङकङसहित १० टिम
प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ९ र हङकङको एक गरी १० वटा टिमको सहभागिता रहनेछ । तीन विभागीय टिम त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल र नेपाल पुलिसका साथै मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, मोरङ ११ फुटबल क्लब, रुपन्देही फुटबल क्लब, सहारा क्लब पोखरा र हङकङ नेप्लिज एकाडेमीले सहभागिता जनाउनेछन् ।

दुई पुराना खेलाडीलाई सम्मान
अघिल्लो वर्षजस्तै चौथो संस्करणको उद्घाटन समारोहमा पनि झापा जिल्लाका दुई जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने भएको छ । यो सम्मान कार्यक्रमलाई गोल्डकपको हरेक संस्करणमा निरन्तरता दिइने बताइएको छ ।

राजवंशी परिवारलाई नगद
यस वर्षदेखि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ । यो रकम प्रत्येक वर्ष गोल्डकप उद्घाटनको दिन प्रदान गरिने अध्यक्ष गिरीले बताए ।

अनलाइन टिकट
गोल्डकपको चौथो संस्करणमा आयोजक समितिले अनलाइन टिकटको व्यवस्था गरेको छ । इ—सेवासँग सहकार्य गरेर आयोजकले एक सय, दुई सय र तीन सय दरका टिकटको व्यवस्था गरेको हो । इलेक्ट्रोनिक्स टिकटको व्यवस्था हुने भएपछि अघिल्लो संस्करणमा जस्तो टिकटको नक्कली प्रतिको अवस्था नआउने आयोजकको विश्वास छ । यो वर्ष पार्किङ र प्रवेशद्वारलाई पनि अझ व्यवस्थित बताइएको छ । टिकट बिक्रीबाट मात्र आयोजकले ३५ लाख संकलन गर्ने लक्ष्य लिएको छ ।

खर्च १ करोड ५ लाख
गोल्डकप सम्पन्न गर्न आयोजकले कम्तिमा एक करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । सर्वाधिक खर्च टिम खर्चमा ३६ लाख रुपैयाँ हुने आयोजकले जनाएको छ ।

बचत २५ लाख
गोल्डकपको सम्पूर्ण खर्च कटाएर कम्तिमा २५ लाख रुपैयाँ यसपटक बचत गर्ने आयोजकको लक्ष्य छ । जसमा नयाँ सदस्यबाट ६ लाख २५ हजार र सदस्यता सहयोग शुल्कबाट ८ लाख ७५ हजार संकलन गर्ने बताइएको छ ।

८० लाखको प्रतिवद्धता
झापा गोल्डकपलाई भव्य र सभ्य बनाउन स्थानीय संघसंस्थाहरुले अहिलेसम्म ८० लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको आयोजकले यसअघि नै जानकारी गराएको थियो । अन्य संघसंस्थाले पनि सहयोग गर्ने बचन दिने क्रम जारी रहेको अध्यक्ष गिरीले जानकारी दिए ।

Facebook Comments