घरेलु मैदानमानै चुक्यो झापा ११, आर्मी च्याम्पियन

बिर्तामोड÷विवेचना : विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा जारी चौथो झापा गोल्डकप फुटवलको च्याम्पियन बनेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

उपाधि चुमे सँगै आर्मीले नगद १२ लाख ५५ हजार सहित ट्रफी हात परेको छ । उपविजेतामानै सिमित झापा ११ ले नगद ६ लाख ५ हजारमा चित्त बुझाएको छ । सोमबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा आर्मीले जितका लागि पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गरको थियो । झापाले भने पहिलो हाफमा एक र दोस्रो हाफमा २ गोल मात्र गर्न सक्यो ।

पहिलो हाफको २४ मिनेटमा आर्मीका सन्तोष तामाङले फ्रि किक मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले व्यत्तिगत २ गोल गरे । आर्मीको जितका लागि क्याप्टेन भरत खवास, टेकबहादुर बुढाथोकी, नवयुग श्रेष्ठले गोल गरेका हुन् । झापाका लागि योगेश गुरुङ, विदेशी खेलाडी फान्सिस् र भिक्टोरले गोल गरे ।

झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो । आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो । झापा ११ भने चौथो पटक फाइनलमा पुगेपनि हालसम्म उपाधी रक्षा गर्न सकेको छैन ।

दर्शकको भरपुर समर्थन पाएको झापा तीन विदेशी खेलाडी सहित आफ्ना नियमित स्ट्राईकर कर्ण लिम्बु, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्तामसहित मैदान उत्रेको थियो । आर्मी पनि आफ्ना नियमित फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र गोल रक्षक विकेश कुथुसहितका केही राष्ट्रिय खेलाडीसहित झापासँग भिडेको थियो । विजेतालाई प्रमुख अतिथि काँग्रेश नेता कृष्ण प्रसाद सिटौला र प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पुरस्कार प्रदान गरेका छन् ।

Facebook Comments