प्रहरीलाई जवाफदेही बनाउन पब्लिक अडिटिङ कार्यक्रम

बिर्तामोड : नेपाल प्रहरीले मातहतका प्रहरी इकाइलाई सार्वजनिकरुपमा जवाफदेही बनाउने भएको छ । प्रहरीलाई जनताप्रति थप उत्तरदायी र जवाफदेही बनाउन पब्लिक अडिटिङको कार्यक्रम अघि बढाउने तयारी भएको हो । ‘अब नेपाल प्रहरीले तीन÷तीन महिनामा पब्लिक अडिटिङ कार्यक्रम गर्नेछ’, बिहीवार विर्तामोडमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले भने ।

पत्रकार समेतलाई राखेर सार्वजनिक सुनुवाई गर्दै जाने र खराव पक्षलाई सुधार्ने नीति प्रहरी सङ्गठनले लिएको उनले बताए । सार्वजनिक रुपमा जवाफदेही हुनु पर्ने भएपछि कुनै अमुक प्रहरीले अवैध काम गर्न नसक्ने महानिरीक्षक खनालको धारणा छ । ‘अब नागरिकका सामु राम्रोसँग प्रस्तुत हुन जरुरी छ’, उनले भने, ‘त्यसका लागि आफैँ सच्चिनुको अर्काे विकल्प छैन । नागरिकले महसुस गर्ने गरी प्रहरी परिवर्तन हुन्छ ।’

महानिरीक्षक खनालले प्रहरीलाई हेर्ने परम्परागत दृष्टिकोण फेरिँदै जानु पर्ने बताए । स्रोत र साधनको अधिकतम् प्रयोग गरेर शान्ति सुरक्षाका लागि प्रहरी खटिएको बताउँदै महानिरीक्षक खनालले बढ्दो दुर्घटना न्युनीकरणका लागि विद्यालय र क्याम्पस तहको पाठ्यक्रममा ट्राफिक शिक्षा समोवश गर्न त्रिभुवन विश्वविद्यालयसँग सहमति गरिएको बताए । ‘हरेक स्कूल र कलेजको पाठ्यक्रममा ट्राफिक शिक्षालाई अनिवार्य गर्ने विषयमा त्रिभुवन विश्वविद्यालयसँग छलफल भएको छ’, उनले भने, ‘कोर्ष बनाएर दिइसकेका छौँ । पाठ्यक्रममा राख्ने विषयमा सकारात्मक आश्वासन पनि आएको छ ।’

महाअभियानको दोस्रो चरण सुरु
सवारी दुर्घटना न्यूनिकरण महाअभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम बिहीबारबाट सुरु भएको छ । कार्यक्रमको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुभारम्भ गरेका हुन् । महाअभियान समितिको आयोजना तथा एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयोजनमा बिर्तामोडमा दोस्रो चरणको कार्यक्रम उद्घाटन गरिएको हो । १५ दिने महाअभियान १ नम्बर प्रदेशका १४ वटै जिल्लामा सञ्चालन हुनेछ । अभियानका क्रममा सचेतनामूलक पर्चा पम्प्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने, चालकको स्वास्थ्य जाँच, सार्वजनिक सवारी साधनको अनुगमन, ट्राफिक प्रहरीको स्वास्थ्य जाँच, घुम्ती प्रशिक्षण लगायतका कार्यक्रम राखिएका छन् ।

ट्राफिकलाई ३५ लाखभन्दा बढीको सामान
कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाइजर, १० वटा ह्वील लक र ७ सय जना चालक तथा सहचालकलाई पोशाक प्रदान गरिएको छ । महाअभियानका संयोजक महेन्द्रकुमार गिरीका अनुसार कार्यक्रममा ३५ लाख रुपैयाँभन्दा बढीका सामग्री हस्तान्तरण गरिएको हो । ४ मंसिरमा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा नेपथ्य समूहबाट भव्य सांगीतिक कार्यक्रम गराएर दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भ गरिएको थियो । कार्यक्रमबाट २० लाख २८ हजार १ सय ५७ रुपैयाँ बचत भएको संयोजक गिरीले जानकारी दिए । ७७ लाख रुपैयाँ संकलन भएको कार्यक्रममा ५७ लाख रुपैयाँ खर्च भएको थियो । त्यसक्रममा ५ हजार १ सय ८६ जनाले टिकट काटेरै नेपथ्यको कन्सर्ट हेरेका थिए । महाअभियान शुभारम्भका दिन बचत भएको २० लाख रुपैयाँ दोस्रो चरणमा खर्च गरिएको हो ।

असोज २ महाअभियान दिवस
अभियानलाई सार्थकता प्रदान गर्न चार चरणमा काम गर्ने आयोजक समितिको तयारी छ । चौथो चरणमा ट्राफिक लाइट जडान गरिने समितिले जनाएको छ । महाअभियान समिति र ट्राफिक प्रहरीको अगुवाइमा हरेक वर्षको २ असोजलाई ‘दुर्घटना न्यूनीकरण महाअभियान दिवस’ का रुपमा मनाइँदैछ । महाअभियान सुरु भएयता चालकलाई अनिवार्य जुत्ता, टिप्पर सञ्चालनमा समय निर्धारण, टिप्परलाई टाइम कार्ड, सडक प्रशिक्षण कार्यक्रम लगायतका काम भएका छन् । दुर्घटना न्यूनीकरण महाअभियानले समुदाय र प्रहरीको सम्बन्ध अझ प्रगाढ हुने महाअभियान समितिका संयोजक गिरीको विश्वास छ ।

मेयरले उठाए गम्भीर सवाल
कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले मदिरा र लागुऔषधका विषयमा गम्भीर सवाल उठाएका छन् । कार्यक्रममा उनले नेपालको सीमावर्ती क्षेत्रमा मदिराको कारोबार तीव्र हुने गरेको र त्यसको बदलामा भारतीय सीमावर्ती क्षेत्रमा लागुऔषध खुलेआम बेचिने गरेको बताउँदै यसका लागि सरकारको माथिल्लो निकायले ध्यान दिनुपर्ने विषय उठाएका हुन् ।

‘नेपाली सीमावर्ती क्षेत्रमा मदिराको व्यापार गरेर नेपालले भारतीयलाई कुलतमा फँसाइरहेकाले नेपाली युवालाई लागुऔषध खुलेआम रुपमा बिक्री गर्नुपरेको भारतीय सुरक्षा अधिकारीहरुले सुरक्षा बैठकमा बताउँदै आएका छन्, सिडिओ सा’बलाई पनि यो विषयमा थाहा छ,’ उनले भने । सिवाकाटीले राखेको विषयमा जवाफ दिँदै प्रहरी महानिरीक्षक खनालले केन्द्रबाट तत्काल पहल गरेर समस्या समाधान गरिने बताए ।

ट्राफिक प्रहरीको भवन शिलान्यास
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन बन्ने भएको छ । बिर्तामोड–३ मा रहेको ८ कट्ठा जमिनमा ट्राफिक प्रहरीको तीन तले भवन निर्माण हुने भएको हो । सवारी दुर्घटना न्यूनीकरण महाअभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रमस्थलबाटै प्रहरी महानिरीक्षक खनालले भवनको डिजिटल प्रविधिबाट शिलान्यास गरेका हुन् । एक नम्बर प्रदेश सरकारको २ करोड ५५ लाख रुपैयाँमा कार्यालयसहित सेमिनार हल निर्माण हुने झापाका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

Facebook Comments