भद्रपुरमा युवा संसद, सरकार र प्रतिपक्षको अभ्यास पनि सुरु

गंगा बराल भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा युवाहरु सम्मिलित संसद गठन भएको छ ।यतिखेर नगरभित्रका झण्डै ४७ जना युवा राज्यसञ्चालनका शासकीय संरचनाअनुसार व्यवस्थापिका र कार्यपालिकाअन्तर्गतका संसद, सरकार गठन, सत्तापक्ष–प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छन् । संसद संचालनको अभ्यास उनीहरु गर्दैछन् । भविष्यमा नेतृत्वतहमा सक्षम जनशक्ति पर्याउने लक्ष्यका साथ राष्ट्रिय युवा परिषदले सदरमुकाम रहेका स्थानीय तहहरुमा युवावर्गको सशक्तिकरण अनि सामाजिक, राजनीतिक, शैक्षिक मूल प्रवाहीकरणमा उनीहरुको सहभागिता खोज्न यसप्रकारको नमूना कार्यक्रम सञ्चालनमा ल्याएको हो । यसमा १६ देखि २४ वर्षका युवा सहभागी छन् ।

सोही अनुसार भद्रपुर नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाले त्यसप्रकारको जनशक्ति तयार गर्न नगरभित्रका युवाहरुलाई नमूना युवा संसद स्थापना र सञ्चालन अभ्यास गराएको शिक्षा शाखा प्रमुख दिनेशकुमार न्यौपानेले जानकारी दिए । नेपालमै पहिलोपटक नमूना युवा संसद गठनको अभ्यास गरिएको हो । भद्रपुरमा नमुना संसद गठनका विभिन्न चरणहरु पूरा गरिएको छ भने छनोटमा परेका युवालाई नमूना संसद स्थापना र अभ्यासका लागि नेतृत्व विकास तथा नमुना युवा संसद संचालनसम्बन्धी कार्यशालामार्फत प्रशिक्षित गरिएको प्रशिक्षक योगेन्द्र पौडेलले जानकारी दिए । उनका अनसार पुसको अन्तिम सातादेखि नै यससम्बन्धी क्रियाकलाप सञ्चालन गरिएको थियो ।

सबै चरण पूरा गरी मंगलबार राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयन, सरकार गठन र प्रतिपक्षसमेत तयार गरिएको छ । वडाहरुमा १५ सदस्यीय युवा समिति गठन गरी प्रत्येक वडाबाट ४ जना प्रतिनिधि तथा नगरप्रमुखले मनोनित गर्ने ७ जना प्रतिनिधिसमेत ४७ जनाको संसदबाट पदाधिकारी चयन गरिएको हो । युवाहरुलाई दुई भागमा विभाजन गरी बहुमत युवाहरुबाट राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानमन्त्री, मन्त्रीहरु चयन गरियो भने अल्पमतका युवाहरुले प्रतिपक्षको भूमिका निर्वाह गर्नेछन् ।

बहुमत प्राप्त समूहले राष्ट्रपतिमा रिजु आचार्य, उपराष्ट्रपतिमा शितल बस्नेतलाई चयन गरेको छ भने प्रधानमन्त्रीमा सरोज ढकाल, सभामुखमा जयन्ती सुवेदी, र उपसभामुखमा सुशील पोखरेललाई चयन गरेको छ । यसैगरी, अल्पमतको समूहले विपक्षी दलको नेतामा सरोज पाण्डे र उपनेतामा देवमान बराइलीलाई चयन गरेको छ ।
यसैगरी, सत्तापक्षीय संसदीय दलका नेता सरोज ढकालको अध्यक्षतामा सांसदहरुको छलफलपछि प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीपरिषद गठन गरेको छ । विभागीय मन्त्रीहरुमा मनोहर गौतम गृहमन्त्री, प्रविन लुइँटेल अर्थमन्त्री, रिनुज वस्नेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, अनिल प्रधान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री, प्रेमा श्रेष्ठ उद्योग तथा रोजगार मन्त्री, आकाश लोहार युवा तथा खेलकुदमन्त्री, निकन अधिकारी स्वास्थ्य तथा सामाजिक मन्त्री, काजल सारु मगर महिला तथा बालबालिका मन्त्री नियुक्त भएका छन् ।

यसअघि आइतबारदेखि मंगलबारसम्म उनीहरुलाई युवा अवस्था, विश्लेषण, युथ भिजन, युवा नीति, युवा संसदमा उठान हुने विषय, प्रश्नोत्तर तयारी, नेतृत्व विकास तथा उत्प्रेरणा, युवा संसद परिचय र महत्व, नेतृत्व चयन तथा पदीय जिम्मेवारी बाँडफाँड, युवाका सरोकार विधिसम्बन्धी प्रशिक्षकहरु युवा समिति झापाका अध्यक्ष छवि चूडाल, योगेन्द्र पौडेल, कानुन व्यवसायी टंक दंगाल र राजकुमार कट्टेल, स्रोतव्यक्ति प्रेम भुजेलले प्रशिक्षण दिएका थिए । नमूना युवा संसद गठनको सबै प्रक्रियामा नगर सरकार प्रमुख जीवनकुमार श्रेष्ठको प्रत्यक्ष सक्रियता र चासो रहेको थियो ।

नगरप्रमुख श्रेष्ठले अभिमुखीकरणको उद्घाटन र समापन गर्दै अहिलेका युवा नै भविष्यको राज्य सञ्चालक हुने भएकोले उनीहरुलाई राज्य व्यवस्थाका सबै विधिबारे जानकारी भइराख्न आवश्यक रहेको उल्लेख गरे । श्रेष्ठले नमूना संसद स्थापना कार्यक्रमले नेपालको संविधान अनुसार रहेको शासकीय शैली बारे प्रत्यक्ष अनुभव लिन सहभागी सफल भएको प्रष्ट पारे । यो अभ्यासले युवावर्गलाई नेपालको संसदीय परम्परालाई सकारात्मक रूपमा लिन र जिम्मेवार बनाउन प्रभावकारी हुने शिक्षा शाखा प्रमुख न्यौपाने बताउँछन् । ‘भद्रपुरका लागि यो अत्यन्त प्रभावकारी र उपयोगी कार्यक्रम आएको छ’, उनले भने– ‘यिनै युवाहरु भविष्यमा राज्यको नेतृत्वमा पुग्छन् र अहिलेको सिकाइले उनीहरुलाई नेतृत्व गर्न पनि सहज हुनेछ ।’ उनले यस्ता अभ्यास विकसित मुलुकहरुमा हुने गरेको र नमूना संसदमा रहेका प्रतिनिधिहरु राज्य सञ्चालकसम्मको भूमिकामा पुगेको उदाहरण रहेको बताए ।

शुक्रवार संसद बस्ने
अहिले गठित संसदको पहिलो बैठक शुक्रवार बस्ने गरी तयारी गरिएको छ । प्रशिक्षक पौडेलका अनुसार शुक्रवार जिससको हलमा नमूना युवा संसद बस्नेछ ।त्यहाँ सभामुखले संसदको कारवाही अगाडि बढाउनेछन् भने विपक्षी दलले प्रश्न उठाउने र सत्तापक्षका प्रधानमन्त्री तथा मन्त्रीहरुले जवाफ दिनेछन् । नेपालको संविधान २०७२ को विधिअनुसार नमूना संसदको कारवाही अघि बढ्ने शिक्षा शाखा प्रमुख न्यौपानेले बताए ।

नगर सञ्जाल गठन
वडाबाट चुनिएर नगरमा आएका सांसद प्रतिनिधिहरुकै बैठकबाट युवाहरुको नगर सञ्जाल पनि गठन भएको छ । भेलाले सञ्जालको अध्यक्षमा रिनुज वस्नेतलाई चयन गरेको छ भने अबिना धमला उपाध्यक्ष, काजल सारु मगर सचिव र सुजना राई कोषाध्यक्ष चयन भएका छन् । सदस्यमा मीना विक, रोहन नकर्मी, कञ्चन कामती, मनोहर गौतम, प्रनिषा रुचाल, सरोज पाण्डे र पिरु टुडु रहेका छन् ।

Facebook Comments

Advertisement