होलीको अवसरमा अपाङ्ग बालबालिकालाई एकलाख

सतासीधाम– होलीको अवसर पारेर गोर्खाली हर्ट फेसबुक ग्रुप र सतासीधाम जेसीजले अपाङ्ग, अशक्त र असहाय बालबालिकालाई सहयोग रकम हस्तान्तरण गरेका छन् । कनकाई नगरपालिकास्थित पुकार अपाङ्ग अशक्त समाजलाई १ लाख ४ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । गोर्खाली हर्टले ७४ हजार र सतासीधाम जेसीजले ३० हजार रुपैयाँ प्रदेश सभा सदस्य झलकसिंह दर्लामी र शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले संयुक्तरुपमा हस्तान्तरण गरेका छन् ।

प्रदेश सभा सदस्य झलकसिंह दर्लामीले गोर्खाली हर्ट र सतासीधाम जेसीजले मानवीय सेवामा समर्पित भई एउटा उदारणीय काम गरेको बताए । उनले समाजमा रहेका असहाय बालबालिकाहरुलाई एकै स्थानमा राखेर संरक्षण गरी पालनपोषण गरेकोमा समाजकी सञ्चालक निर्मला ओझालाई धन्यवाद दिए । नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले नगरभित्र रहेका यस्ता फरक विशेषता भएका बालबालिकाहरुलाई नगरपालिकाले संरक्षण गर्ने बताइन् । ‘कतिपय फरक विशेषता भएका बालबालिकाहरुलाई बाबु आमाले समेत छोडेकाले त्यसको जिम्मा राज्यले लिनुपर्छ’, उनले भनिन् ।

गोर्खाली हर्टका सञ्चालक विजय खुदाङ्गले १७ जना अपाङ्ग बालबालिका संरक्षण गरिरहेको पुकार समाजले घर भाडा तिर्न नसकेर त्यसमा आश्रित बालबालिहरुको विचल्ली पर्ने देखेपछि बालबालिकाहरुको संरक्षणका लागि खान पुगोस, दिन पुगोस भन्ने नाराका साथ अभियान चलाएको बताए । गोर्खाली हर्टले समाजमा आश्रित बालबालिकाहरुलाई होलीको टीसर्ट पनि वितरण गरेको थियो । शिवसताक्षीको दूधेमा रहेको कनकाई गार्मेटले समाजका बालबालिकालाई ट्रयाकसुट वितरण गरेको छ । गार्मेटका सञ्चालक सन्तोष थोप्रा र प्रदेश सभा सांसद दर्लामी र उपप्रमुख नेपालले संयुक्तरुपमा ट्रयाकसुट हस्तान्तरण गरेका हुन् ।

Facebook Comments