होली विवादमा छुरा प्रहार हुँदा युवाको मृत्यु

सुनसरीको धरानमा युवायुवतीहरु होलीमा रमाइरहेका बेला बिहीबार साँझ बगैंचालाइनमा अचानक दुई समूहवीच झडप हुँदा एक युवाको मृत्यु भएको छ । छुरी प्रहारबाट ती युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने युवा धरान ८ स्थित सिदार्थमार्ग बस्ने २० वर्षीय निमा तामाङ हुन् । उनको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याए लगतै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाकाका अनुसार मृतक तामाङको बायाँ छातीमा छुरी प्रहार भएको छ । तामाङकै समूहका मिलन विक घाइते भएका छन् । विकको बायाँ पाखुरामा छुरी प्रहार भएको छ । उनको प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीले छुरी प्रहार गर्ने चार जनाको समूहको पहिचान गरिसकेको जनाए पनि नाम सार्वजनिक गरेको छैन । लागूपदार्थ र मादक पदार्थ सेवनबाट उत्पन्न आवेगजन्य कारणले तामाङको हत्या हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Facebook Comments

Advertisement