चैत १७ गतेदेखि सबै चिया प्रतिष्ठान अनिश्चितकालका लागि बन्द

सरकारले तोकेको पारिश्रमिक नौ महिना बितिसक्दा पनि नपाएपछि चिया मजदुर आन्दोलित भएका छन्। उनीहरुले चैत १७ गते देशभरका चिया प्रतिष्ठान अनिश्चितकाल बन्द गर्नेदेखि औजार जुलुस र विभिन्न स्थानमा विरोध सभासम्मका आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन्।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले संयुक्त रुपमा मंगलबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

उनीहरुले यो आन्दोलनलाई पार लगाइ छोड्ने दाबी समेत गरेका छन्। ‘चैत १७ गते सबै चिया प्रतिष्ठान अनिश्चितकालका लागि बन्द गर्छौं, दिउँसो झापाको चन्द्रगढीमा विरोधसभा गर्ने कार्यक्रम छ, अबको आन्दोलनको निस्कर्ष निकालेर मात्र रोकिन्छ,’ नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले भने।

उनले चैत १८ र २० गते प्रत्येक इकामा औजारसहित जुलुक निकाल्ने, १९ गते बिर्तामोडमा र २१गते काँकडभिट्टामा विरोधसभा गर्ने तयारी गरेको समेत बताए। सरकारले तोके बमोजिम चिया बगानमा कार्यरत श्रमिकले न्यूनतम आधारभुत पारिश्रमिक दैनिक २ सय ३१ र महंगी भत्ता १ सय ५४ गरी जम्मा ३ सय ८५ पाउनुपर्ने हो। तर, सरकारले श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक नेपालका चिया बगानमा कार्यरत मजदुरले नौं महिना बितिसक्दा सम्म पाउन सकेका छैनन्।

इलाम र धनकुटाका पाँचवटा चिया बगानमा कार्यरत मजदुर बाहेका नेपालका पाँच जिल्लाका चिया मजदुरले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक अझै पाउन नसकेको नेपाल चिया श्रमिक संघले जनाएको छ। इलामका तीन र धनकुटाका दुई उद्योगले भने मजदुरलाई सरकारले तोकेको पारिश्रमिक दिन थालेका छन्।

Facebook Comments

Advertisement