भद्रपुरमा रात्रीकालीन फुटबल प्रतियोगिताको तयारी

गंगा बराल भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुरमा रात्रीकालीन फुटबल हुने भएको छ । केही समयअघि भद्रपुर रन, बीच भलिबल, टी–२० क्रिकेटजस्ता रोमाञ्जक खेलकुद आयोजना गरेर खेलकुदको क्षेत्रमा निकै सकारात्मक चर्चा बटुलेको भद्रपुरले फेरि एकपटक रात्रीकालीन फुटबल प्रतियोगिताको माध्यमबाट सबैको ध्यान भद्रपुरमा केन्द्रित गर्ने जमर्को गरेको छ ।

दुई दशकदेखि प्रतियोगितामार्फत फुटबल खेलको विकास र खेलाडी उत्पादनमा क्रियाशील एलेभेन साइनिङ स्टार क्लवले भद्रपुर माविको मैदानमा रात्रीकालीन फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लवले नगरप्रमुख जीवनकुमार श्रेष्ठसमेतको उपस्थितिमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो । नयाँ वर्ष २०७६ को अवसर पारेर गर्न लागिएको रात्रीकालीन प्रतियोगिता पूर्वमै पहिलोपटक आयोजना हुन लागेको क्लवका अध्यक्ष दिलीप भूइमाली बताउँछन् । ‘रात्रीकालीन भद्रपुर कप’ नाम दिइएको प्रतियोगिता बैशाख ३ गते शुरु हुनेछ भने प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाउने बताइएको छ । यो प्रतियोगिता प्रदेशस्तरीय हुनेछ । यसअघि, क्लवले जिल्लास्तरीय प्रतियोगिता गर्दै आएको थियो ।

अहिलेसम्म १४ वटा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ । प्रतियोगिता सम्पन्न गर्न लगभग १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । विजेताले एक लाख नगद, शील्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद, शील्ड तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न क्लवका अध्यक्ष भूइमालीकै संयोजकत्वमा एक आयोजक समिति गठन गरिएको छ भने आवश्यकता अनुसार उपसमितिहरु निर्माण गरिने बताइएको छ । समितिको उपाध्यक्षमा बिर्जु सहनी, सचिवमा भीम पकुवाल, कोषाध्यक्षमा मनोज श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा रवि मुखिया, नविनचन्द्र गुरुङ, किरण दाहाल, शुभम राया, सौरभ प्रधान, सनी थापा र शिवा महत्तो रहेको जनाइएको छ ।

प्रतियोगितामा सबैभन्दा बढी खर्च विद्युत व्यवस्थापनका हुने आयोजक क्लवले जनाएको छ । विद्युत व्यवस्थापनमा ५ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको कोषाध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । प्रतियोगिता फरक ढंगले भएको र जनमानसको ध्यान आकर्षित गर्नेखालको भएकोले नगरपालिकाले पनि प्रतियोगिताप्रति निकै चासो देखाएको छ । नगरप्रमुख जीवनकुमार श्रेष्ठले भद्रपुरको पहिचानलाई थप उचाइमा पुर्याउन यो प्रतियोगिता फलदायी हुने भन्दै प्रतियोगिता सफल बनाउन सबै जनप्रतिनिधि एकजुट भएर लाग्ने बताएका छन् । वडा नं ४ का वडाध्यक्ष हंशधर राजवंशी, वडा नं ५ का अध्यक्ष बन्धु कार्कीलगायतले सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण रहे पनि प्रतियोगिता सफल बनाउन लागिपर्ने प्रतिबद्धता जनाएका छन् भने आयोजक क्लवले सुरक्षाको उचित प्रवन्ध मिलाइने जनाएको छ ।

Facebook Comments

Advertisement