सहकारीकर्मीलाई सुशासन तालिम

बिर्तामोड– झापामा पहिलोपटक सहकारी संघ–संस्थाभन्दा बाहिरको व्यवसायिक शैक्षिक प्रतिष्ठानले तीन दर्जन सहकारीकर्मीलाई तालिम दिएको छ । काठमाडौंको बैंकिङ ट्रेनिङ इन्स्टीच्युट (बिटीआई) र बिर्तामोडको अक्सफोर्ड एकाडेमिक सेन्टरको संयुक्त आयोजनामा शनिबार यस्तो तालिम दिएको हो । सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले सहजीकरण गरेको ‘सहकारीमा सुशासन’ सम्बन्धी तालिममा सहकारी ऐन २०७४ मा गरिएको व्यवस्थाका बारेमा वृहत छलफल भएको थियो ।

नेपाल संघीय संरचनामा गएकाले तीन तहका सरकारले सहकारीलाई हेर्ने दृष्टिकोणमा फरक पर्न सक्ने भएकाले ऐनका प्रावधानमा एकरुपता ल्याउन सहकारीका सदस्यहरु र अभियन्ताको एउटै आवाज हुनुपर्ने ढकालको सुझाव छ । जिल्लाकै चुनिन्दा सहकारी संस्थाहरु एनएमसी, कर्णाली, सिम्रिक, हाम्रो नेपाल, सतासी बहुमुखी, समुन्नत जस्ता ११ वटा संस्थाका सञ्चालक, कर्मचारी एवम् समितिका सदस्यहरुको तालिममा सहभागिता थियो ।

देशका ७५ प्रतिशतभन्दा बढी सहकारी संस्थाहरुले पैसाको किनबेच गर्ने भएकाले बिटीआईले तिनलाई सक्षम एवम् सुशासनयुक्त बनाउन यस्तो तालिम दिइएको बिटीआईका प्रमुख प्रशासकीय अधिकृत नवराज उपाध्यायले बताए । वाणिज्य र विकास बैंकहरुमा जस्तै सहकारीमा पनि सम्पत्ती शुद्धिकरणको विषय लागू भएकाले सहकारी संस्थाले सञ्चालन गर्ने वित्तीय तथा नीतिगत कुराहरु ऐन बमोजिम गर्न यस्तो सुशासन तालिम फलदायी बन्ने गरेको बिटीआईका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको भनाई छ ।

तालिमको स्थानीय आयोजक अक्सफोर्ड एकाडेमिक सेन्टरका डाइरेक्टर सुवर्ण कुँवरले पूर्वमा सहकारी संस्थाहरुको संख्या उल्लेख्य रहेकाले सो व्यवसायमा मर्यादित व्यवहार गर्न तथा वित्तीय सन्तुलनसहित व्यवस्थापन गर्न सघाउ पुगोस् भनेर तालिम आयोजना गरेको बताए ।

Facebook Comments

Advertisement