९१ हजार बालबालिका विद्यालय बाहिर

बिर्तामोड–सरकारले विद्यार्थी भर्ना अभियान कार्यक्रमको घोषणा गरेको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले कार्यक्रम शुरुवात गरेको हो । मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्र साविकको शिक्षा विभागका अनुसार यस वर्ष ९१ हजार बालबालिका विद्यालय बाहिर छन् ।

गएको वर्ष ६० हजार भन्दाबढी बालबालिका विद्यालय बाहिर रहेकामा त्यो संख्या बढेर यसबर्ष ९१ हजार पुगेको छ। केन्द्रका प्रवक्ता दीपक शर्माका अनुसार पाँच बर्षदेखि नौ बर्ष उमेर समूहका २५ लाख ८३ हजार विद्यार्थीमध्ये गएको वर्ष २४ लाख ९२ हजार विद्यार्थी विद्यालयमा भर्ना भएका थिए ।

बाँकी रहेका ९१ हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । यो संख्यालाई आधार मानेर मन्त्रालयले स्थानीय तहसँग सहकार्य गरेर भर्ना अभियान कार्यक्रम शुरु गर्ने तयारी गरेको छ ।

Facebook Comments