डकर्मीहरुले पाए सीप अभिबृद्धि तालिम

अर्जुनधारा–अब बन्ने भवन तथा घरलाई भूकम्पीय जोखिमबाट बचाउन सहर, गाउँ र टोलमा निर्माणकर्मी डकर्मीहरुका लागि सीप अभिबृद्धि गराउने उद्देश्यले अर्जुनधारा नगरपालिकाले निःशुल्क तालिम सम्पन्न गरेको छ ।
नगरपालिकाको आयोजना र डाउनहिल कन्सटक्सन एण्ड डिजाइनर्स प्रालि बिर्तामोड–४ को प्राविधिक सहयोगमा सात दिवसीय डकर्मीका लागि आयोजित तालिम बुधबार सम्पन्न भएको हो । नगरमा क्रियाशिल डकर्मीहरुलाई लक्षित गरेर तालिम प्रदान गरिएको बरिष्ठ योजना अधिकृत हिमराज सेडाइले जानकारी दिए । तालिमको समापन गर्दै नगर प्रमुख रानाले अब बन्ने घर तथा भवन भूकम्प प्रतिरोधी हुनु जरुरी भएको बताए ।

तालिमका संयोजक अर्जुन घिमिरेले नेपालमा भूकम्पको कारणबारे सहभागिहरुलाई जानकारी गराएका थिए । तालिममा सहभागिता जनाएकाले तालिम लिइसकेपछि आफनो ३५ प्रतिशत इस्कोर प्रगति गरेको उनले दाबी गरे। नगरमा डकर्मीको आवेदन आह्वान गरी मुख्य पेशा बनाएका डकर्मीको छनोट गरी तालिममा सहभागी गराइएको थियो । चैत्र २८ गतेबाट तालिम शुरू भई २०७६ बैशाख ४ गते सम्पन्न भएको हो ।

भूकम्प प्रतिरोधी भवन निर्माण डकर्मीहरुलाई ३५ जनालाई तालिम दिएर दक्ष बनाइएको नगरका इञ्जिनियर निरज अधिकारीले बताए । पाठ्यक्रमका आधारमा डकर्मीको शीप वृद्धि गरेर भूकम्प प्रतिरोधी घर बन्न सक्ने उनले विश्वास व्यक्त गरे । नगरको सभाकक्षमा भएको कार्यक्रममा आवश्यक सम्पूर्ण ज्ञान दिई दक्ष बनाएर प्रमाणपत्र समेत नगर प्रमुख रानाले सहभागी जनाएकालाई प्रदान गरेका थिए ।

Facebook Comments