बिर्तामोड प्रहरीको ज्यादती : गैरकानुनी थुनामा राखेर यातना दिँदा बालकको मृत्यु

बिर्तामोड : इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतभित्र एकजना नाबालकको मृत्यु भएको छ । प्रहरीको यातनाबाट मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीको ज्यान गएको हो । प्रहरीले घटना गुपचुपमा राखेको छ ।

मोबाइल चोरी गरेको भन्दै बिर्तामोडका केही स्थानीयले २९ चैतको साँझ ६ बजे किरणलाई प्रहरीको जिम्मा लगाएका थिए । १५ वर्षका नाबालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास खड्काले सोझै हिरासतमा राखेर यातना दिएको स्रोतले जनाएको छ । हाल प्रहरीले किरण अभद्र व्यवहार मुद्दामा पक्राउ परेको जवाफ दिन थालेको छ ।
किरण १ वैशाखको राति मारिएका हुन् । प्रहरीले भने उनले आत्महत्या गरेको दाबी गरेको छ । प्रहरीले किरणको उमेर र ठेगानासमेत लुकाउने प्रयास गरेको छ । प्रहरीले किरण १९ वर्षको भएको र भारतीय नागरिक भएको जनाउँदै आएको छ । किरण पक्राउ परेको ३ दिन बित्दासमेत अदालतबाट म्याद थप भएको थिएन ।

गैरकानुनी ढंगबाट थुनामा राखेर मृत्यु हुनु गम्भीर कुरा भएको राष्ट्रिय मानवअधिकार आयोग विराटनगरका प्रमुख मोहनदेव जोशीले बताए । प्रहरीले किरण हिरासतको वाथरुममा झुन्डिएको जनाएको छ । तर, उनको मृत्यु झुन्डिएर नभएर प्रहरीको चरम यातनाबाट भएको किरणका बुवा रमेश कार्की डोलीले दाबी गरे ।
घटना ढाकछोप गर्न डीएसपी खड्काले कार्यालयका प्रहरीलाई निर्देशन दिएका थिए’, स्रोतले भन्यो, ‘प्रहरीले घटनास्थलको सम्पूर्ण प्रमाणहरु नष्ट गरेको छ । सीसीटीभी पनि हटाएको छ ।’

मानव अधिकार सञ्जाल तथा शान्ति कार्यक्रम समूह (प्याग) झापाका अध्यक्ष तथा अधिवक्ता अर्जुन बस्नेतले गैरकानुनी हिरासतमा बालकको मृत्यु हुनु गम्भीर अपराध भएको बताए । उनका अनुसार बालबालिकालाई हिरासतमा राख्दा जिल्ला अदालतका न्यायाधीशलाई मौखिक जानकारीसम्म गराउनुपर्ने व्यवस्था छ । तर, प्रहरीले उल्टै म्याद नथपी बालकलाई हिरासतमा राखेको देखिन्छ ।

अञ्चल अस्पतालका चिकित्सक शिशिर शिवाकोटीले पोष्टमार्टम गरेका हुन् । पोस्टमार्टम रिपोर्ट आएको छैन । मृतकका बुवा रमेशले छोरा वाथरुममा झुन्डिएर र्मयो भनेर जर्वजस्ती शव बुझाएको आरोप लगाए । इलामका अर्का बालकले प्रहरीको कुटाइबाट किरणको मृत्यु भएको बताएका थिए । ती बालकलाई प्रहरीले घटना गोप्य राख्न भन्दै २ गते नै छाडेको थियो ।

घटनाका विषयमा सधैँ सञ्चारकर्मीलाई इमेल पठाउँदै आएको प्रहरीले किरणको मृत्युका विषयमा भने कुनै विवरण पनि उल्लेख गरेको छैन । हिरासतमा किरणलाई यातना दिएको विषय मातहतका प्रहरीबाटै सार्वजनिक भएको हो । प्रहरीले भने यातना नभइ किरणले पूरा बाहुला भएको सर्टको पासो लगाएर हिरासतभित्रै आत्महत्या गरेको दाबी गर्दै आएको छ ।

बिर्तामोड प्रहरीका डिएसपी खड्काले सुरुमा घटनाका विषयमा अनविज्ञता प्रकट गरे । सञ्चारकर्मीले घटना लुकाउन खोजेकोप्रति आपत्ति जनाएपछि उनले किरणले आत्महत्या गरेको जिकिर गरे । ‘यस विषयमा माथि सोध्नुस्, मैले बोल्न मिल्दैन’, उनले भने । घटनापछि प्रहरीले परिवारका सदस्यलाई जानकारी नगराई शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको थियो । मेची अञ्चल अस्पतालका डाक्टर शिशिर शिवाकोटीले दर्जीको शव पोष्टमार्टम गरेका छन् ।

किरण पक्राउ परेको कुरा उनको परिवारलाई समेत जानकारी थिएन । घटनाको भोलिपल्ट २ वैशाखको बिहान १० बजे मात्र प्रहरी किरणका बुवा रमेश कार्कीडोली दर्जीलाई खोज्दै मेचीनगर–६ स्थित निवासमा पुगेको थियो । प्रहरीले किरणले झुण्डिएर आत्महत्या गरेको दाबी गरे पनि घटनास्थलमा झुण्डिन मिल्ने ठाउँसम्म छैन । ‘छोरो पक्राउ परेको जानकारीसम्म थिएन हामीलाई,’ बाबु रमेश कार्कीडोली दर्जीले भने, ‘तपाईंको छोरो झुण्डियो भन्दै मलाई लिन आए, हामीलाई जानकारी नै नगराई शव चाहिँ पोष्टमार्टम गर्न भद्रपुर लगिसकेका रहेछन् ।’

प्रहरीले मृतकका बाबुलाई सिधै मेची अञ्चल अस्पताल भद्रपुर लगेर पोष्टमार्टम गरिसकिएको शव जिम्मा लगाएको थियो । ‘हामी अभिभावक नपुगी पोष्टमार्टम गराएछन्, हामीलाई प्रहरीले झुण्डिएको ठाउँसम्म देखाएको छैन,’ मृतकका परिवारका सदस्यहरु भन्छन्, ‘उसको घाँटीमा झुण्डिएको डाम नै छैन ।’
यो घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा रहेका थुनुवा भेट्न आउने आफन्तलाई पनि प्रहरी उपस्थितिमा मात्रै भेट्न दिने गरिएको छ । हिरासतमा रहेका थुनुवाले त्यस विषयमा बोल्न सक्ने डरले प्रहरीले त्यसो गरेको हो ।

Facebook Comments