झापामा ८ हजार हेक्टरमा रवर खेतीको सम्भावना

बिर्तामोड–नेपालमा १८ हजार ९ सय हेक्टर क्षेत्रफलमा रबर खेतीको प्रचुर सम्भावना देखिएको छ। कृषि तथा पशुपंक्षी मन्त्रालयले बनाएको रबरबाली अध्ययन कार्यदलको प्रतिवेदनले सो कुरा औंल्याएको हो। प्रतिवेदन अनुसार झापामा ८ हजार, मोरङमा ४ हजार ९ सय, सुनसरीमा २ हजार, इलाममा १५ सय र सप्तरीमा ५ सय हेक्टर क्षेत्रफलमा रबर खेतीको उपर्युक्त सम्भावना देखिएको छ। सामुदायिक, सहकारी वन र सरकारी खाली जग्गामा रबर खेती हुने सम्भावना देखिएको कार्यदल प्रमुख सवनम शिवाकोटीले जानकारी दिइन्।

हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कमा करिब ५ सय ५ हेक्टर क्षेत्रफलमा रबर खेती हुँदै आएको छ। किसानहरुको आकर्षण बढ्दै गएपछि हाल हेभिया जातको रबर झापा, मोरङ्ग, सुनसरी तथा इलामको दक्षिणी भुभागमा फैलिदै गएको छ। नेपालमा गोरखकाली रबर उद्योगको सक्रियतामा ‘सुधाफलरस प्रालि’, शनिश्चरे, झापासँग सम्झौता भई पहिलो पाईलट प्रोजेक्टको रूपमा ५ हेक्टरमा रबर खेती शुरु भएको हो।

Facebook Comments