पञ्चेबाजा बजाएर प्रचण्डले गरे दोस्रो पटक विवाह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाले पुनः विवाह गरेका छन् । बिहीबार खुमलटारस्थित निवासमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले ५० वर्ष पुगेको अवसरमा पत्नी सीता दाहालको आग्रहमा ५०औं वर्षगाठ मनाउने क्रममा पुनः विवाह गरेका हुन् । ‘आजभन्दा एक वर्षअघि नै सीताले ५०औं वर्षको अवसरमा केही सानो कार्यक्रम आयोजना गर्नुपर्छ भनेकी थिइन्, यता छोरीहरूले पनि राम्रै हुन्छ भन्ने सुझाव दिएपछि परिवारको सल्लाहमा कार्यक्रम आयोजना गरिएको हो,’ अध्यक्ष दाहालले भने ।

पत्नी सीताको स्वास्थ्यस्थिति अप्ठेरोमा भएको बताउँदै उनले पुनः विवाहले स्वास्थ्योपचारमा मानसिक रूपले सकारात्मक प्रभाव पार्ने बताए । पुनः विवाहले ठूलै हौसला प्रदान गरेको र पत्नी दाहालको भित्री मनोबल उच्च रहेको बुझाइ उनको रहेको छ । विवाह समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्य एवं वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, समाजवादी पार्टी नेपालका अध्यक्षद्वय बाबुराम भट्टराई, उपेन्द्र यादव र नेकपाका नेता एवं दाहालका परिवारका सदस्यको सहभागिता रहेको थियो ।

Facebook Comments