भारतको मिजोरम नाकाबाट यसरी बेचिदैछन् नेपाली महिला

बिर्तामोड– उत्तर पूर्वी भारतीय राज्यको मणिपुर नाकामा कडाई भएपछि मानव तस्करले त्यसैसँग जोडिएको मिजोरम नाका प्रयोग गरेर नेपाली महिलालाई बिक्रीका लागि लैजान थालेको खुलासा भएको छ । मिजोरम प्रहरीले दुई साताअघि २३ नेपाली महिलाको उद्धार गरेपछि मानव तस्करीको नयाँ नाका प्रयोगमा आएको खुलेको हो ।

बर्मासँग सीमा जोडिएको भारतको उत्तरपूर्वी राज्य मिजोरमको चम्फीबाट भारतीय प्रहरीले ती नेपाली महिलाको उद्धार गरेको थियोे । वैदेशिक रोजगारीका लागि मिजोरमबाट बर्मा हुँदै दक्षिणपूर्वी एसियाली मुलुक लैजान लागिएको अवस्थामा उद्धार गरिएका सबै नेपाली महिलालाई भारतीय प्रहरीले पूर्वीनाका काँकडभिट्टा ल्याएर माइती नेपालको रोहवरमा नेपाली अधिकारीहरुलाई बिहीवार जिम्मा लगाएको छ ।

भारतीय प्रहरीले उद्धार गरी नेपाल फर्काउँदै गरेका महिला काँकडभिट्टा नाकामा । तस्वीर–विष्णु श्रेष्ठ, एपीवान

महिला तथा बालबालिका मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले भारतीय प्रहरीले जिम्मा लगाएका २३ महिलालाई बुझेका छन् । रोजगारीको प्रलोभनमा परेर अवैधरुपमा भारतको उत्तर पूर्वी राज्यमा पुर्याइएका नेपाली महिलालाई भारतीय प्रहरीको सहयोगमा स्वदेश फर्काइएको उपसचिव भुसालले जानकारी दिए ।

दुई महिनाअघि पनि भारतको उत्तरपूर्वी राज्य मणिपुरहुँदै अवैधरूपमा विभिन्न मुलुक लैजान लागिएका १ सय ४७ महिलासहित १ सय ७९ जनालाई उद्धार गरी पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल फर्काइएको थियो । मणिपुर नाकामा कडाई गरिएपछि बेचबिखनमा संलग्न गिरोहले नेपाली महिलालाई मिजोरम नाका हुँदै म्यान्मारबाट सिंगापुर, मलेसिया र अरब मुलुकमा लैजान खोजेको महिला तथा बालबालिका मन्त्रालयको विश्लेषण छ ।

द्धार गरिएका महिलालाई माइती नेपालको आवधिक गृहमा राखिएको छ । घरेलु कामदारका रूपमा लैजान प्रतिबन्ध लगाइएका मुलुकहरूमा अवैध बाटो प्रयोग गरी नेपाली महिलालाई लैजाने क्रम अझै नरोकिएको यो घटनाले पनि देखाउँछ । नेपालका सीमा नाकामा कडाई गरिएको भनिए पनि नेपाली महिला अवैधरुपमा बिदेशिने क्रम रोकिएको छैन ।

Facebook Comments