बिर्तामोडमा लिच्ची महोत्सव : १०० रुपैयाँमा अघाउँजी लिच्ची

बिर्तामोड–झापा बिर्तामोडको श्री जय ड्रिमल्याण्ड पार्कको आयोजनामा जेठ ४ गतेदेखि पाँच दिनसम्म लिच्ची महोत्सव हुने भएको छ । बिर्तामोड–२ को १५ विघा क्षेत्रफलमा फैलिएको पार्कमा महोत्सव हुन लागेको हो ।

कनकाई एजुकेशन फाउन्डेसनका संस्थापक अध्यक्ष जयनारायण ढुङ्गानाको स्वामित्वमा रहेको पार्कमा यतिबेला लटरसम्म लिच्ची फलेका छन् । पार्क व्यवस्थापनका तर्फबाट ढुङ्गानाले बुधवार फाउण्डेसन परिसरमा पत्रकार सम्मेलन गरी पाँच दिने महोत्सव गरिन लागेको जानकारी दिए ।

गतवर्ष पनि फाउण्डेसनले लिच्ची महोत्सव आयोजना गरेको थियो । हेभन वाटर पार्क नजिक रहेको श्री जय ड्रिमल्याण्ड पार्कमा कटहर, आँप, अम्वक, लिच्ची रोपिएको छ । वातावरणीय सन्तुलनका लागि आवश्यक रहेको भन्दै ढुङ्गानाले १५ विघा जग्गामा फलफूल रोपेका हुन् । ‘मरेर जाँदा पनि समाजले केही पाओस्’, पत्रकार सम्मेलनमा ढुङ्गानाले भने, ‘पार्क वातावरणीय हिसावले पनि बिर्तामोडका लागि अनिवार्य आवश्यकता हो । ’

लिच्ची महोत्सवमा सहभागी हुनेले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ । १०० रुपैयाँ तिरेर पार्कभित्र छिर्नेले आफैँ टिपेर अघाउँजी लिच्ची खान पाउँछन् । तर गोजीमा हालेर लैजान पाउँदैनन् । घर लैजान चाहनेका लागि गेटमा बिक्रीका लागि लिच्चीका झुप्पा राखिने फाउण्डेसनका अध्यक्ष ढुङ्गानाले बताए ।

Facebook Comments