आमा निर्देशक छोरी नायिका

गत वर्ष झन्डै ३० नायिकाले फिल्ममा डेब्यु गरे । तीमध्ये सफल नायिकामा पर्छिन् सुहाना थापा । नायिका झरना थापाकी सुपुत्री सुहानाले डेब्यु फिल्म ‘ए मेरो हजुर–३’ बाटै सफलता हात पारिन् । २९ चैतबाट प्रदर्शन भएको फिल्म हाल पनि राजधानीका केही हलमा प्रदर्शन भइरहेको छ । फिल्मको सफलतासँगै सुहानाको क्रेज पनि बढेको छ । दर्शकले उनलाई छिटै अर्काे फिल्ममा हेर्न चाहेका छन् । सुहाना भने आमा झरनाकै निर्देशनमा बन्ने नयाँ फिल्ममार्फत पुनः पर्दामा आउने सोचमा छिन् ।

सुहानालाई अभिनय क्षेत्रमा लाग्न पारिवारिक माहोलले सहज बनाएको हो । ‘पहिला त मलाई अभिनयमा आउने चाहना थिएन । पछि मलाई केही कुराले निकै प्रभाव पा¥यो,’ सुहाना भन्छिन्, ‘ए मेरो हजुर–२ को प्रिमियरमा सहभागी भएकी थिएँ । त्यतिवेला केही मिडियाले मेरो पनि अन्तर्वार्ता लिनुभयो । त्यो अन्तर्वार्तामा आएका कमेन्टले मलाई अभिनयमा करिअर बनाउन प्रेरित गरेको हो ।’

आमा झरना पनि सुहानामा पहिला अभिनयप्रति रुचि नभएको बताउँछिन् । ‘मैले मजस्तै एक्टिङमा करिअर बनाउन भन्दा उनले इच्छा देखाउँदिनथिन् । बरु म फिल्म प्रोड्युस गर्छु, टेक्निकल फिल्डमा सपोर्ट गर्छु भन्थिन्’ उनी भन्छिन्, ‘अघिल्लो फिल्म ए मेरो हजुर–२ को प्रिमियरमा केही युट्युबका साथीहरूले उनको पनि अन्तर्वार्ता लिएछन् । त्यो अन्तर्वार्तामा दर्शकले दिएको उत्साहजनक कमेन्टले उनमा अभिनयप्रति रुचि बढाइदिएछ ।’

ए मेरो हजुर–२ को सफलतापछि निर्देशक झरना र निर्माता सुनीलकुमार नयाँ फिल्मका लागि हिरोइन खोज्न थाले । छोरी सुहानासँग सल्लाह हुँदा उनले आफू अभिनय गर्न तयार भएको बताइन् । ‘त्यसपछि त के चाहियो र ?’ निर्देशकसमेत रहेकी आमा झरनाले भनिन्, ‘नानीले फिल्म खेल्न इच्छा देखाएपछि हामीले अरू केही सोचेनौँ ।’

अमेरिकामा स्नातक अध्ययनरत सुहानालाई डेब्यु फिल्मको सफलताले निकै उत्साह थपेको छ । आमा निर्देशक, बाबु निर्माता, छोरी हिरोइन । फिल्मका बारे नजानेको, नबुझेको केही छैन । ‘सबैको माया, तारिफ र साथले मलाई यही क्षेत्रमा करिअर अघि बढाउन मार्ग प्रशस्त गरेको छ,’ सुहाना भन्छिन् ।

सुहाना अझ राम्रा फिल्म दर्शकलाई दिन चाहन्छिन् । आमा झरनाको चाहना पनि त्यही छ । एकपछि अर्काे गर्दै फिल्म निर्देशनमा पाइरहेको सफलताले आफूलाई अझै चुनौती थपिएको झरना बताउँछिन् । भन्छिन्, ‘आगामी दिनमा अझ उत्कृष्ट फिल्म बनाउने ध्याउन्न मेरो हुनेछ ।’ सुहाना पनि आमाकोझैँ उत्कृष्ट अभिनय र फिल्म दिन जतिसुकै कडा मिहिनेत गर्न पनि पछि नपर्ने पक्षमा देखिन्छिन् ।

Facebook Comments