अढाई करोड लगानीमा पानी उद्योग स्थापना : झर्नाको पानी बोतल र जारमा

बिर्तामोड– जमिनमुनिबाट निकालेर प्रशोधन गरिएको पानी प्रयोग गरिरहेका पूर्वी नेपालका उपभोक्ताले अब झरनाको शुद्ध पिउने पानी प्रयोग गर्न पाउने भएका छन् । चार जना युवा व्यवसायीको लगानीमा झापाको बुद्धशान्ति गाउँपालिका–७ मा स्थापना भएको उद्योगले बोतल र जारमा पानी बजारमा ल्याएको हो ।

नयाँ प्रविधिबाट पानीलाई प्रशोधन गरी बजार ल्याइएकाले पहाडको पानी अब उपभोक्ताले झापाको बजारमा सहजै पाउने भएका छन् । अढाई करोड रुपैयाँको लगानीमा झापाका युवा व्यवसायी मीनप्रकाश मैनाली, सागर मैनाली, हरि मैनाली र सुनिल भण्डारीले सुनमाई वाटर प्रालिमार्फत झर्नाको पानी बजारमा ल्याएका हुन् ।

अहिले सुनमाई झरना पानी बजारमा बिक्री भइरहेको छ । इलामको रोङ गाउँपालिकाको प्युरेबाट मुहानको पानी ल्याएर प्रशोधन गर्दै झापावासीलाई पहाडको पानीको स्वाद चखाउने उद्देश्यले सुनमाई झरना पानी वजारमा ल्याइएको उद्योगी मीनप्रकाश मैनालीले बताए ।

प्रालिले गत चैतबाट सुनमाई झरना ब्राण्डको प्रशोधित पिउने पानी बजारमा ल्याएको हो । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ अनुसार सञ्चालनमा आएको उद्योगको दैनिक १२ सय कार्टुन पानी उत्पादन गर्ने क्षमता रहेको उद्योग सञ्चालक मैनालीले बताए । उद्योगले हाल एक लिटरको बोतलमा उत्पादन भइरहेको सुनमाई झरना पानी छिट्टै तीन सय मिलिलिटर, आधा लिटर र २० लिटरको जारमा समेत उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

उद्योगमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । दुई वटा गाडीमार्फत् झापाका अधिकांश बजारमा पानी पु¥याइएको उद्योगका बजार व्यवस्थापक हरि मैनालीले जानकारी दिए । बजारमा उपलब्ध पानीमध्ये सुनमाई झरना गुणस्तरीय भएको उनको दावी छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड अनुसार सुनमाई वाटर प्रालिमा अटोम्याटिक फिलिङको व्यवस्था रहेको सञ्चालकहरुको भनाई छ ।

उद्योगभन्दा पाँच किलोमिटरमाथि इलामको रोङ गाउँपालिकाबाट पाइप विच्छ्याएर ल्याइएको पानी उद्योगमा प्रशोधन गरेर बजारमा पु¥याइएको मैनालीले बताए । सो ठाउँको पानी प्रदेश नं. १ कै उत्कृष्ट मानिने भएकाले आफूहरुले त्यो ठाउँ रोजेको उद्योग सञ्चालकहरुको भनाइ छ । पानीको उत्पादन लागत प्रति कार्टुन १२५ रुपैयाँ पर्ने मेनेजर भण्डारीले बताए । लागत खर्च घटाएर गुणस्तरीय पानी उपभोक्तामाझ पु¥याउने उद्देश्यले उद्योगले बोतल आफैँ उत्पादन गर्ने गरेको उनले सुनाए । प्रति कार्टुन १४० रुपैयाँका दरले उद्योगले व्यापारीलाई पानी दिने गरेको व्यवस्थापक हरि मैनालीले जानकारी दिए ।

Facebook Comments