विर्तामोडमा नगरस्तरीय खेलकुद : फुटबलको फाइनलमा वडा नं ४ र ७ भिड्ने

विर्तामोड : गणतन्त्र दिवसको अवसर पारेर विर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुदअन्तर्गत सोमबार भएको दोस्रो सेमीफाइनल खेलमा वडा नं ७ विजयी भएको छ । वडा नं ७ ले वडा नं १० लाई ४–२ गोल अन्तरले पाखा लगाउँदै गणतन्त्र दिवसको दिन बुधबार सम्पन्न हुने फाइनलमा वडा नं ४ सँगको भेट पक्का गरेको हो । आइतबार पहिलो सेमीफाइनल खेलमा वडा नं ४ ले वडा नं ५ लाई पाखा लगाएको थियो ।

स्थानीय डोमालाल रङ्गशालामा सोमबार सम्पन्न उपाधिको दाबेदार मानिएको वडा नं १० लाई वडा नं ७ ले सहजै पराजित गरेको छ । खेलको म्यान अफ द म्याच विजयी टिमका जर्सी नं ११ का केसिङजङ लिम्बू घोषित भएको आयोजक समितिका उपाध्यक्ष केशव भण्डारीले जानकारी दिए । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनोट गरी एउटा सशक्त नगरस्तरीय टिम तयार गर्ने उद्देश्यले जारी प्रतियोगितामा दर्शकको संख्या पनि बढ्दै गएको समितिका अध्यक्ष टिका संग्रौलाले जानकारी दिए । मंगलबार विहान ८ बजेदेखि करातेका खेलहरु हुनेछन् भने बुधबार विहान मिनी म्याराथन र दिउँसो फुटबलको फाइनलसँगै शील्ड तथा पुरस्कार वितरणसहित नगरस्तरीय खेलकुद सम्पन्न हुने आयोजक समितिका उपाध्यक्ष दुर्गाराज निरौलाले जानकारी दिएका छन् ।

Facebook Comments