एनएमसीमा युवाको अभूतपूर्व आकर्षण : २० जनाका लागि १६ सय जना परीक्षार्थी

तस्बीरहरु– बिजय बराल, विवेचना डटकम

बिर्तामोड (विवचेना दैनिक)– नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) मा शनिवार १६ सय भन्दाबढी परीक्षार्थीले रोजगारीका लागि परीक्षा दिएका छन् । झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको एनएमसीले २० जना नयाँ कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको थियो ।

अब्बल व्यवस्थापकीय क्षमता भएको एनएमसीमा शनिवार १६ सय भन्दाबढी आवेदकले परीक्षा दिएका छन् । लोकसेवा आयोगकै परीक्षाको झल्को दिने गरी एनएमसीले उनीहरुको लिखित परीक्षा लिएको छ । मेचीनगर–१४ स्थित शहिद दशरथ मावि र त्रिदेव बहुमुखी क्याम्पसका २० वटा कोठामा ४० जना निरीक्षण खटाएर एनएमसीले दुई सिफ्टमा आवेदकको लिखित परीक्षा लिएको हो ।

परीक्षा सञ्चालनका लागि संस्थाले एनएमसी सेवा आयोग गठन गरेको छ । परीक्षामा दर्जनौं सुरक्षा गार्ड र नेपाल प्रहरी समेत परिचालन गरिएको थियो । अधिकतम् परीक्षार्थीको सहभागिताले पनि एनएमसीप्रतिको विश्वास झल्काउँछ’, संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती भन्छन्, ‘सहकारीमा पनि एउटा अभूतपूर्व आकर्षण छ भन्ने कुरा यो सहभागिताले देखाएको छ ।’

एनएमसीले सहायक अधिकृत स्तरको ५ जना, वरिष्ठ सहायक स्तरको ८ जना र कार्यालय सहायक स्तरको ७ जना कर्मचारीका लागि खुला आवेदन मागेको थियो । जसमा एक हजार ६०६ जनाले आवेदन भरेका थिए । लिखित र मौखिक परीक्षामा सामेल गरेर २० जना कर्मचारी छनौट गरिने संस्थाका उपाध्यक्ष उप्रेतीले बताए ।

२०५० सालमा स्थापित एनएमसीले एउटा डेरी उद्योग, एकीकृत कृषि परियोजना र उपभोक्ता भण्डार समेत सञ्चालन गर्दै आएको छ । झापाको अग्रणी सहकारीको रुपमा चिनिएको यो संस्थामा ६०० भन्दाबढी कर्मचारी छन् । अहिले ३५ वटा सेवा केन्द्रमार्फत एनएमसीले ६५ हजार भन्दाबढी सदस्यलाई वित्तिय सेवा दिइरहेको छ ।

Facebook Comments