घरेलु मदिरा बरामद, उत्पादन गर्ने ‘फरार’ !

प्रहरीले अर्जुनधारा नगरपालिका–११ स्थित टेकबहादुर गिरी बसपार्क क्षेत्रबाट घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले बसपार्क आसपासका क्षेत्रबाट दुई सय ५६ किलो जाँड र ५१ लिटर घरेलु मदिरा (रक्सी) बरामद गरेको थियो । बरामद गरिएको मदिरा शनिबार दिउँसो इलाका प्रहरी कार्यालय बिर्तामोड परिसरमा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा खल्डो खनेर नष्ट गरिएको हो ।

घरेलु मदिरा बिक्री वितरण, उत्पादन, ओसार पसार, भण्डारण गरेको पाइए विगो जफत गरी विगोवमोजिम जरिवाना र कैद सजाय हुने व्यवस्था भए पनि प्रहरीले मदिरा उत्पादन तथा विक्री वितरण गर्नेलाई भने पक्राउ गरेको छैन । बिर्तामोडका इन्सपेक्टर श्रीप्रसाद राईले घरेलु मदिरा उत्पादन तथा विक्री वितरण गर्नेहरु फरार भएको बताए । ‘यो क्षेत्रमा घरेलु मदिरा र लागुऔषधको प्रयोग तथा विक्री वितरण भइरहेको हामीले सूचना पाएका थियौँ,’ बिर्तामोडका डिएसपी मोहनकुमार थापाले भने, ‘लागुऔषध र घरेलु मदिरा नियन्त्रणका लागि हामीले अभियान नै सञ्चालन गरेका छौँ ।’

भर्खरै सरुवा भएर बिर्तामोड आएका डिएसपी थापाले प्रहरी केही दिनभित्रै घरेलु मदिरा उत्पादन गर्ने कारखानासम्मै पुग्ने दाबी गरे । दोस्रो चरणमा अस्पताल र विद्यालय नजिकका भट्टी पसलमा प्रहरी जाने उनले बताए । मदिराजन्य पदार्थले वडामा झैझगडा, कलह र घरेलु हिंसा बढिरहेको बिर्तामोड नगरपालिका–५ का वडा सदस्य ढाँचाराज कडरियाले बताए । घरेलु मदिरा नियन्त्रण गर्ने प्रहरीको अभियान सराहनीय भएको भन्दै उनले वडा कार्यालयले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मदिरासम्बन्धी कानून
अन्तशुल्क लाग्ने वस्तुको कारोबार गर्दा अन्तशुल्क ऐन २०५८ र नियमावली २०५९ वमोजिम इजाजतपत्र लिनुपर्ने हुन्छ । इजाजतपत्र नलिइ मदिरा र सूर्तिजन्य वस्तुको उद्योग सञ्चालन, पैठारी, ओसारपसार वा बिक्री वितरण गर्दा जफत हुने जनाइएको छ ।
‘बिगो जफत गरी बिगोको दुईसय प्रतिशत वा एक लाख रुपैयाँमध्ये जुन बढी हुन्छ, त्यही जरिवाना गरिन्छ,’ आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत बोलराज आचार्य भन्छन्, ‘त्यसपछि एक वर्षसम्म कैद वा दुबै सजाय हुन सक्छ ।’
मदिरा ऐन २०३१ तथा मदिरा नियमहरु २०३३ बमोजिम घरेलु मदिराको कारोबार गैरकानुनी छ । घरेलु मदिरा बिक्री वितरण, उत्पादन, ओसार पसार, भण्डारण गरेको पाइए विगो जफत गरी विगोवमोजिम जरिवाना र कैद सजाय हुने बताइएको छ ।

मदिराकै कारण अपराध
जिल्लामा भइरहेका अघिकांश घटनाको मुख्य कारण मदिरा हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷७५ का १ हजार ६ सय ८७ घटनामध्ये ५ सय १२ वटाको मुख्य कारण मदिरा थियो । शान्ति सुरक्षाविरुद्धका घटनाको तथ्यांकमा पनि मदिरा नै मुख्य कारक देखिन्छ । गत वर्ष भएका ६ सय ७५ वटा शान्ति सुरक्षाविरुद्धका घटनामा १ सय ९५ वटाको मुख्य कारण मदिरा थियो । घरेलु हिंशाका घटनाको कारक पनि मदिरा नै देखिन्छ । आर्थिक वर्ष २०७४÷०७५ मा भएका ६९ मध्ये ४५ वटा घरेलु हिंशाका घटना मादक पदार्थ सेवनका कारण भएको थियो ।

Facebook Comments