सहारा र कन्काई बहुमुखी सहकारी संस्थाबीच एकीकरण

तस्बीरहरु– बिजय बराल, विवेचना डटकम

बिर्तामोड– सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र कन्काई बहुमुखी सहकारी संस्थाबीच एकीकरण भएको छ । २०५४ सालमा बिर्तामोडमा स्थापना भएको कन्काई बहुमुखी सहकारी शनिबारदेखि सहारा नेपाल सहकारीसँग गाभिएको हो । शनिबार बिर्तामोडमा दुबै सहकारीले एकीकरण घोषणासभा गरेका छन् ।

कार्यक्रममा सहाराका अध्यक्ष ताराप्रसाद सञ्जेल र कन्काईका अध्यक्ष जगन्नाथ शर्मा खनालले आ–आफ्नो सहकारीको लोगोसहितको झण्डा उचालेका छन् । उनीहरुको बीचमा उभिएर प्रमुख अतिथि प्रदेशसभा सदस्य एकराज कार्कीले नेपालको राष्ट्रिय झण्डा फहराउँदै दुई सहकारी एकीकरण भएको सङ्केत गरे । साधारणसभाले दिएको अधिकार प्रयोग गरी सहारासँग एकीकरण गरिएको कन्काईका अध्यक्ष खनालले बताए ।

२०५२ सालमा स्थापना भएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले यसअघि अन्य दईवटा सहकारीसँग एकीकरण गरिसकेको सचिब महेन्द्रकुमार गिरीले जानकारी दिए ।। सहारा साकोस सदस्यका हिसावले नेपालकै पहिलो र वित्तीय अवस्थाका हिसावले मुलुकको दोस्रो सहकारीमा पर्छ । प्रदेश १ को ६ वटा जिल्लामा ६२ वटा सेवा केन्द्रमार्फत् कारोबार गरिरहेको सहाराको १ लाख ४१ हजार ६ सय ४५ जना सदस्य छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले राज्यको नीतिअनुसार दुई सहकारी एकीकरण भएकोमा खुशी व्यक्त गरे । ‘बृद्ध, महिला, युवा, व्यापारी, शिक्षाका क्षेत्रमा राज्यले गर्न नसकेको काम सहाराले गरेको छ,’ उनले भने, ‘सहाराले गरिबहरुलाई आवासको कार्यक्रम सुरु गरेको छ, मानवीय क्षेत्रमा पनि राम्रो काम गर्दै छ ।’ सहकारीले उत्पादनका क्षेत्रमा काम गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा वस्तु र सेवाको विषयमा जानकारी दिँदै सहाराका सचिब महेन्द्रकुमार गिरीले शेयर सदस्य ५ लाख पु¥याउने सहकारीको लक्ष्य रहेको बताए । ‘१० हजार युवालाई रोजगार दिने हाम्रो सपना छ,’ उनले भने ।

Facebook Comments