काङ्ग्रेस नेता कार्यकर्ताविरुद्ध अनुशासन समितिमा १२ सय उजुरी

बिर्तामोड– कांग्रेस अनुशासन समितिले आफ्ना नेता तथा कार्यकर्तासँग स्पष्टीकरण सोध्ने भएको छ । संघीय संसद्, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेका नेताकार्यकर्ताविरुद्ध परेको उजुरीमा समितिले छानबिन गरिरहेको छ । छानबिनमा दोषी देखिए जुनसुकै तहका नेतामाथि पनि कारबाही हुने दाबी समिति पदाधिकारीको छ ।

चुनावमा बागी उम्मेदवारी दिएका र अन्तरघात गर्न सहयोग गरेको लगायतका आरोप लगाउँदै शीर्ष नेतादेखि विभिन्न तहका कार्यकर्तामाथि परेको उजुरीमाथि समितिले अध्ययन गरिरहेको छ । अध्ययन सकिएपछि पार्टीलाई हराउन सक्रिय नेता कार्यकर्तासँग स्पष्टीकरण लिइने समिति संयोजक भीष्मराज आङ्गदेम्बले बताए । उनका अनुसार अनुशासन समितिमा १२ सयभन्दा बढी उजुरी परेका छन् ।

लामो समयसम्म विवादमा रुमल्लिँदै चुनाव सकिएको झन्डै डेढ वर्षपछि चैत ४ गते अनुशासन समिति गठन भएको थियो । समितिले उजुरीमाथि अध्ययन सक्न लागेको छ । ६ वटा प्रदेशका उजुरी अध्ययन भइसकेको छ भने बाँकी एउटा प्रदेशको उजुरीमाथिको अध्ययन अन्तिम चरणमा पुगेको समितिले जनाएको छ ।

संयोजक आङ्गदम्बेका अनुसार जेठ अन्तिमसम्ममा सबै उजुरीको अध्ययन सकिनेछ । ‘उजुरी अध्ययन सकेपछि चुनाव हराउन सक्रिय नेता कार्यकर्तासँग स्पष्टीकरण सोध्नेछौं’, संयोजक आङ्गदम्बेले भने, ‘चित्तबुझ्दो जबाफ नआए कारबाही प्रक्रिया अगाडि बढाउनेछौं ।’ उनले उजुरीका आधारमा सबै तहका नेतासँग स्पष्टीकरण लिइने बताए । उनले कारबाही प्रक्रिया भने पार्टीभित्रै छलफल गरेर तय गरिने जानकारी दिए ।

Facebook Comments