भद्रपुर नगरपालिकाले दियो १४९ जनालाई रोजगार

गङ्गा बराल, भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरपालिकाले १४९ जनालाई बुधबारदेखि रोजगारी प्रदान गरेको हो । रोजगारीका लागि झण्डै दुई हजारले आवेदन बुझाएका थिए । प्रक्रिया अनुसार छनोटमा परेका श्रमिकहरुलाई भारतको गलगलिया जोड्ने भद्रपुर–५ स्थित नवनिर्मित मेची पूलको पूर्वतर्फको बाटोमा बाँध निर्माणको काममा लगाएर कार्यक्रमको शुभारम्भ गरिएको हो ।

नगरप्रमुख जीवनकुमार श्रेष्ठले बेल्चा चलाएर कार्यक्रमको उद्घाटन गरेका छन् । दैनिक ५१७ रुपैयाँ ज्याला उपलब्ध गराउने गरी ३० दिनका लागि छनोटमा परेका श्रमिकले नगरका भित्री कच्ची सडकहरु मर्मत गर्ने, सडकपेटी, पर्यटकीय तथा सार्वजनिक स्थलहरुका झाडी–फोहोर सरसफाइ गर्ने, सार्वजनिक भवनहरुको रंगरोगन गर्ने बृक्षारोपणका कार्यहरु गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।

चालु आर्थिक वर्षमा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारबाट ३३ लाख रुपैयाँ सशर्त अनुदान बजेट प्राप्त गरेको कार्यक्रम संयोजक दीपक पाण्डेले बताए । उनले छनोटमा परेका श्रमिकलाई श्रमसम्बन्धी विभिन्न विधामा तालिम दिएपछि काममा लगाइएको जानकारी दिए ।

भद्रपुर नगरपालिका झापा जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने पहिलो स्थानीय तह भएको छ । नगरप्रमुख श्रेष्ठले राज्यको सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले निकै ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी वर्ष यो कार्यक्रमका लागि नगरपालिकाले पनि बजेट विनियोजन गर्ने र नगरभित्र बेरोजगारको संख्या न्यूनिकरण गर्न सहयोग पु¥याउने बताए ।

बृक्षारोपण
भद्रपुर नगरपालिकाले विश्व वातावरण दिवसको अवसर पारेर नगरका १० वटै वडामा फलफूलका विरुवा वितरण गरेको छ । सरकारको एक नेपाली, एक फलफूलको विरुवा रोपण अभियान कार्यान्वयन गर्दै नगरपालिकाले फलफूलका विरुवा वितरण गरेको हो ।

विश्व वातावरण दिवसको अवसरमा नगरपालिकाको सभाहलमा आयोजित समारोहका बीच नगरप्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रमाया श्रेष्ठले वडाध्यक्षहरुलाई विरुवा हस्तान्तरण गरेका छन् । सोही अवसरमा नगरपालिकाले मंगलबार आयोजना गरेको वातावरणसम्बन्धी वक्तृत्वकला प्रतियोगिताका विजयीलाई नगदसहित पुरस्कार वितरण गरिएको छ ।

Facebook Comments