विरामीको मृत्यु प्रकरण : हस्पिटलमा तोडफोड भएपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार

बिर्तामोड– पेट दुखेर उपचारार्थ भर्ना गरिएकी युवतीको मृत्यु भएपछि आफन्तले आइतबार दिउँसो बिर्तामोडस्थित कन्काई हस्पिटलमा तोडफोड गरेका छन् । पीडितका आफन्त तोडफोडमा उत्रिएपछि त्यसलाई रोक्न बिर्तामोड प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । तोडफोड रोक्न प्रहरीले लाठीचार्ज पनि गरेको छ । तोडफोड सुरु भएपछि हस्पिटलमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट ३० जना प्रहरी परिचालन गरिएको थियो । पछि धुलाबारीबाट १३ र जिल्ला प्रहरी कार्यालय झापाबाट २५ जनाको टोली आएको बिर्तामोडका डीएसपी मोहन थापाले बताए ।

इलामको सूर्योदय नगरपालिका–९ फिक्कलकी २१ वर्षीया विविता तामाङको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आफन्तको आरोप छ । कनकाई अस्पताल प्रशासनका अनुसार उपचारमा संलग्न चिकित्सकले विरामीको अवस्थाबारे बाबुलाई आफन्तलाई सबैकुरा अवगत गराएका थिए । ‘विरामीको कन्डिसन खराव थियो भन्ने विषयमा हामीले अभिभावकलाई अवगत गराएका हौँ, अस्पताल प्रशासनले भन्यो ।

पेट दुखेर सामान्य अवस्थामा भर्ना भएकी राईलाई हस्पिटलले आइसियुमा राखेको थियो । आइतबार बिहान विराटनगरस्थित नोबेल हस्पिटल रेफर गरिएकी राईलाई नोबेलका चिकित्सकले मृत घोषणा गरेका थिए । मृतककी दिदी सम्झना राईले विविताको मृत्यु डाक्टरको लापरवाहीले भएको दावी गरिन् । उनका अनुसार हस्पिटलले विविताको आँखामा टेप लगाएको अवस्थामा नोवेल रेफर गरेको थियो ।

मृतककी दिदी सम्झनाका अनुसार विवितालाई आइसियुमा हालेको ६ दिन भइसकेको थियो । सर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा ओगेन लामाले प्रहरीले मृतकका आफन्तलाई दमन गरेको बताए । हस्पिटल प्रशासनसँग आफूहरु वार्तामा बसिरहेका बेला आफन्तलाई प्रहरीले लाठीचार्ज गरेको उनले सुनाए । ‘उनीहरुलाई छुटाउन जाँदा प्रहरीले मलाई नै लाठी हान्यो, गोली हान्छु भनेको छ प्रहरीले,’ वडाध्यक्ष लामाले भने । कन्काईमा भर्खरैबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएकाले पहाडका बिरामी रेफर भएर आउन थालेका छन् । विवितालाई पनि इलामको फिक्कल हस्पिटलले रेफर गरेर कन्काई पठाएको थियो ।

Facebook Comments